|

म्याग्दी : बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने मात्र होइन बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की आफ्ना ग्राहकलाई चाहिएको ताजा तरकारी पनि बारीबाटै हातमा थमाइदिन्छन्।

‘कार्की जी नमस्कार’ भन्दै बारीमै आउने ग्राहकलाई नमस्कार फर्काउँदै रोजेको तरकारी टिपेर दिँदै भलाकुसारी गर्न भ्याउने हँसिला ५८ वर्षे कार्की म्याग्दीका अर्गानिक तरकारीका पिता मानिन्छन्।

कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिकासरह भएको छ। ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती सुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन्।

व्यावसायिक तरकारी खेतीले फेरियो जीवन

तरकारीको बिउ र विरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर व्यावसायिक अर्गानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेरै मासिक ६५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।

कार्कीजस्तै अर्का किसान छन् बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्मा । शर्माले व्यावसायिक तरकारी खेती गर्न लागेको करिब २० वर्ष भयो। २० वर्षको अवधिमा शर्माले तरकारीबाट नै ५० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिसकेका छन्।

‘२० वर्ष अघिसम्म बिजोग थियो’, सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ बर्से शर्माले भने, ‘साँझ बिहान खानेकुरा हुँदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिन्ँ, विदेश जाने पैसा भएन र सुरु गरें २ रोपनी पाखोबारीमा तरकारी खेती’, २० वर्ष अघिको दुःख सम्झदै शर्माले भने, ‘त्यही  पाखोबारीमा गरेको तरकारी खेतीबाट नै मेरो जीवनमा पनि हरियाली छाउँदै आयो।’कार्की र शर्मा दुई प्रतिनिधि पात्र मात्र हुन्। म्याग्दीमा पछिल्लो समय व्यावसायिक अर्गानिक तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको संख्या बढ्दै हुँदै गएको छ।

तरकारीको माग उत्तिक्कै

३ वर्षदेखि पर्यटकीय क्षेत्रमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरमा छ म्याग्दीका अगुवा कृषक कार्कीको घर। घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेंडा, काउली, बन्दाकोबी, मूला, गाजर, सिमी, काँक्रा, साग, प्याज, लसुन, धनियाँ र अरू धेरै तरकारी। घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोमा छ उनको पसल। पसलमा  फलफूल र तरकारी छन्। लभ्लीहिल जाने पर्यटक त्यही पसलमा फलफूल र तरकारी किनेर फर्किने गर्छन्।

कार्कीले करिब २२ रोपनी र शर्माले १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन्। स्थानीय बजारमा कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ। तरकारी बेचेर कार्कीले मासिक ६५ हजार रुपैयाँभन्दा बढी र शर्माले ५५ हजारको हाराहारीमा आम्दानी गर्छन्।

तरकारी मात्रै होइन यी दुवैले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन्। कार्कीले तरकारीसँगै केरा खेती र माछा पालेका छन् भने शर्माले बाख्रापालनबाट दोहोरो आम्दानी लिन सफल भएका छन्। दुवैतर्फको आम्दानी जोड्दा दुवै कृषकको आम्दानी मासिक १ लाख रुपैयाँभन्दा बढी हुन्छ।

अहिले पनि कार्की र शर्माको बारीमा काउली, बन्दाकोबी, मूला, गाजर, सिमी, काँक्रा फलेका छन्। सिजन र बेसिजनमा समेत तरकारी उत्पादन गर्ने कार्कीले शुद्ध अर्गा्निक तरकारी उत्पादन गर्छन्। बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ।

गाईको गहुँत नै किटनाशक औषधि

‘तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन’, कार्कीले भने, ‘रोग र किरा नियन्त्रण गर्ने मेरो औषधि गाईवस्तुको गहुँत मात्रै हो।’ गहुँतकै प्रयोगले मात्र तरकारीमा लाग्ने सबै रोगका किरा मर्ने गरेको अनुभव उनीसँग छ।

कार्कीले उत्पादन गरेको तरकारी आधाजसो तरकारी बारीबाट नै विक्रि हुन्छ भने बचेको उनकी पत्नी लक्ष्मी कार्कीले बजारमा पुर्‍याउने व्यवस्था मिलाउँछिन्। कार्की परिवारका चारै सदस्य तरकारी खेतीमा लागेका छन्।

एउटै गाउँका यी दुई जना कृषकको देखासिकी गरेर अहिले पूरै खवरा गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ। २ सय ४० घरधुरीको बसोबास रहेको खबराका प्रायः सबै तरकारी र फलफूल खेतीमा लागेका छन्।

‘अहिले खबरा गाउँ नै हरियाली गाउँमा परिणत भएको छ, ताजा र अर्गा्निक तरकारी र फलफूलले खबराको परिचय नै फेरिएको छ’, नेकपा बेनी नगरपालिका कमिटी सचिव एवं स्थानीय राजकुमार थापाले भने।

उपभोक्ताको हितमा

कार्की र शर्माले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन्। विषादीका कारण स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भनेर सुनेका कार्कीलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नआएको बताए।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ। बाहिरबाट आयातित सस्तो तरकारीभन्दा उपभोक्ताले बरु केही रकम बढी तिरेरै भए पनि कार्की र शर्माले उत्पादन गरेको तरकारी किन्ने गरेका छन्।

मिहिनेतले मालामाल

प्रायः यी दुई किसानको तरकारी बेनी बजारमै खपत हुन्छ। अझ बजारमा तरकारी पुर्‍याउन नै हम्मेहम्मे पर्ने गरेको उनीहरूको अनुभव छ। ‘बजारमा होस् वा गाउँमा अर्गा्निक तरकारी खोज्ने मानिस बढ्दै गएका छन्’, शर्माले भने, ‘मागेजति तरकारी पुर्‍याउन सकेको छैन।’

उपभोक्ताको चाहना अनुसारको उत्पादन दिन सके पैसा कमाउन विदेश जान नपर्ने शर्माको भनाइ छ। प्रायः सबै काम आफैं गर्ने शर्मालाई पछिल्लो समय प्रविधिले सघाएको छ। खेतबारीको खनजोत गर्न आधुनिक मेसिन आएकाले सहज भएको शर्माले बताए।

‘परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु’, अर्का किसान कार्कीले भने, ‘मिहिनेत गर्न सके कमाउन विदेश किन जानु?’ तरकारीको उत्पादनबाट सफलता पाएका शर्मा र कार्कीले पछिल्लो समय फलफूल खेती, माछा र बाख्रा पालनलाई समेत व्यवस्थित गर्ने बताएका छन्। तरकारी बारीबाट नै जीवनमा हरियाली ल्याउन सफल यी दुई कृषकको सिको गरे पैसा र सम्मान दुवै आफ्नै गाउँठाउँमा कमाउन सकिने स्थानीय बुद्धिजीवी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.