|

काठमाडाैं : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको विषयमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफल सकिएकाे छ। 

शुक्रबार भएकाे छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलको तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू मीनेन्द्र रिजाल, रमेश लेखक, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपाका अर्का नेता नेता खिमलाल देवकोटा सहभागी थिए। छलफल निष्कर्षमा भने नपुगेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता भएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति र सिफारिस गर्नेबारे छलफल भएकाे बताइएकाे छ। 'सातवटै प्रदेशमा नेताहरू पुगेर द्वन्द्वपीडितहरूसँग परामर्श गरेर फर्केपछि छलफल भएकाे हाे,' थापाले भने, 'आजकाे छलफलमा द्वन्द्वपीडितहरूसँग भएकाे कुराकानी नै नेताहरूले जानकारी गराउनु भएकाे थियाे। आजकाे छलफल निष्कर्षमा पुगेकाे छैन। पुन: छलफल गरेर टुंग्याउने सहमतिका साथ आजकाे बैठक सकियाे। अब नेताहरूकाे सहमतिमा अर्काे बैठक बस्नेछ।'

शीर्ष नेताहरूबीचकाे छलफलपछि विधेयकलाई संसदबाट पास गराएर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन हुनेछ। दुवै आयोग ९ महिनादेखि पदाधिकारीविहीन छन्। बेपत्ता आयोग २०७१ सालमा भएपछि आयोगमा करिब ६५ हजार उजुरी परेका थिए।

उजुरी परे पनि उजुरीबारे कुनै छलफल र छानबिन हुन सकेको थिएन। नेकपा र कांग्रेसबीच सहमति हुन नसक्दा द्वन्द्वपीडितहरूको नाम सिफारिससमेत हुन सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.