|
फाइल तस्बिर

डोल्पा : हिमाली जिल्ला डोल्पामा बिहीबारदेखि सुरु भएको हिमापात र वर्षाले जनजीवन प्रभावित भएको छ।

हिमपात जारी रहेकाले उपल्लो डोल्पाको क्षेत्र सेताम्य भएको छ। मध्य र तल्लो डोल्पाका जुफाल, माझफाल, ताली, रसी, लिकु, पहाडा, बन्तडी, सु, रिमि, काइगउँलगायतका बस्तीमा पनि भारी हिमपात भएको छ। तल्लो डोल्पामा पर्ने त्रिपुराकोट, दुनै, खदाङलगायतका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।

लगातारको हिमपात र वर्षाले चिसो बढेका कारण जनजीवन अत्याधिक कष्टकर बनेको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय कविप्रसाद उपाध्यायले बताए। हिमपातले वनक्षेत्र पूरै ढाकेपछि गाईवस्तु गोठमै राखिएको र मानिसहरूसमेत घरबाट निस्कन नसकेको उनले बताए।

जुफाल विमानस्थल बन्द

हिमपात र वर्षाका कारण दुई दिनदेखि जुफाल विमानस्थल बन्द भएको छ। हिमपात र बर्षातका कारण मौसम बिग्रेपछि दुई दिनदेखि जुफाल विमानस्थल बन्द भएको हो।

मौसममा खराबी आएकै कारण नेपालगन्ज विमानस्थलदेखि दुई दिनयता कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

विमानस्थल बन्द भएपछि सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्। यसरी नै हिमपात र वर्षा जारी रहे शनिबार पनि उडान हुने सम्भावना कम कार्यालयले जनाएको छ।

बैंकिङ सेवा ठप्प

दुई दिनदेखि लगातार हिमपात र वर्षाका कारण घाम नलागेपछि सौर्य ऊर्जाबाट चलेका बैंकहरूको सेवा प्रवाहसमेत ठप्प भएको छ। दिउँसोको समयमा बत्ती नआउने र सोलार काम नगरेपछि त्रिपुरासुन्दरी नगरपालिका-१ मा रहेको माछापुच्छ्रे बैंकको सेवा दुई दिनदेखि ठप्प भएको छ।

घाम नलागेर सिस्टम नचलेपछि सेवा दिन नसकिएको र सेवाग्राही त्यसै फर्किएको शाखा प्रबन्धक श्याम श्रेष्ठले जानकारी दिए। त्यस्तै, सदरमुकाम दुनैमा रहेका सिटिजन्स, वाणिज्य र नेपाल बैंकको सेवासमेत प्रभावित भएको छ।

चिसोका कारण जुफाल र त्रिपुराकोटमा व्यापार व्यवसायसमेत ठप्प भएको छ। चिसोकै कारण जिल्लास्थित विभिन्न सरकारी र गैरसरकारी कार्यालय र स्थानीय तहको कामकाज र सेवा प्रवाहमा पनि समस्या भएको छ। त्रिपुराकोट-दुनै र त्रिपुराकोट-खदाङ र खदाङ-तल्नु बगरमा चल्ने सवारी साधनसमेत चल्न सकेका छैनन्।

हिमपातकै कारण जिल्लाका आन्तरिक तथा जिल्ला बाहिर आवतजावत गर्न प्रयोग हुने पैदल मार्गसमेत अवरुद्ध भएका छन्। बाटोमा बाग्लो हिउँ जमेपछि डोल्पा-जुम्ला पैदल मार्गसमेत अवरुद्ध भएको छ भने जिल्लाको सञ्चार सेवासमेत प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.