|

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरूको साझा एजेण्डा बन्नुपर्ने बताएका छन्। भक्तपुरको सल्लाघारीमा नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारणसभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भौतिक पूर्वाधारको निर्माणविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताए।

समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीहरूसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले बताए । 'निर्माण व्यवसायीहरूले भनेझैँ सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीहरूले पनि इमानदारीपूवर्क काम गर्नुपर्छ' उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भने।

समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भन्दै पोख्रेलले यसतर्फ सजग हुन व्यवसायीहरूलाई आग्रह गरे। निर्माण कार्यमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुनेसमेत उनले बताए। नेपाली निर्माण व्यवसायीहरू अब आफ्नो योग्यता तथा क्षमतासहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने उनको भनाइ थियो। 

सांसद जिप छिरिङ लामा शेर्पाले निर्माण कार्य समयमै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताए। सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेशन खर्चको दुरुपयोग नगरेको दाबी गरे। नेकपाका नेता डाक्टर विजय पौडेलले आफ्ना समस्याहरू खुलारूपमा राख्न व्यवसायीहरुलाई सल्लाह  दिए।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भए पनि व्यवसायीहरू अरू धेरै समस्या खेप्न बाध्य भएको तर्फ सरकारको ध्यानाकर्षण गराए। 'निर्माण व्यवसाय चलायमान नहुँदा दशेको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन' अध्यक्ष सिंहले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.