|

नवलपरासी : इन्दिरा सुगर एण्ड एग्रो इण्डस्ट्री प्रालिले उखुको रकम भुक्तानी नदिएको भन्दै एक किसानले आत्महत्याको प्रयास गरेका छन्। विग १२ दिनयता उखु किसान इन्दिराको द्वारमै दिनरात धर्ना बस्दै आइरहेका छन्।

१२ दिनसम्म पनि मिल संचालकले रकम भुक्तानीका लागि कुनै चासो नदेखाएपछि धर्नामै बसेका किसान बेचु पालले आत्महत्याको प्रयास गरेका हुन्। उनी आत्महत्या गर्ने भन्दै चिनी मिलको चिम्नीमा चढेर हाम फाल्ने प्रयास गरेका थिए। पाललाई किसानले हारगुहार गरेर हाम फाल्नबाट बचाएको युवराज मौर्यले बताए।

मिल संचालकले रकम भुक्तानी नगर्दा दैनिकी चलाउन कठिन भएको र किसानको समस्याप्रति कोही पनि गम्भीर नभएकोले आफू आत्महत्या गर्ने स्थिति आएको पालले बताए।

धर्नामा रहेका किसानले स्काभेटर प्रयोग गरेर मिलको पूर्वी र उत्तरी गेटमा खाडल खनिदिएका छन्। उनीहरूले मिलमा कुनै पनि सवारी साधन आवतजावत गर्न नमिल्ने गरी खाडल खनिदिएका हुन्।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीले सरकारसँगको सहमतिका कारण माघ ७ गतेभन्दा पहिला मिल संचालकलाई केही गर्न नक्ने बताए। उनले किसानले विभिन्न चरणमा आन्दोलन गर्ने र मिलमा ताला लगाए पनि कुन आधिकारिक भन्ने पहिचान गर्न अफ्ठ्यारो भएको मरासिनीको भनाइ छ।

किसान र सम्बन्धित निकायसँग जिल्लास्तरमा पटकपटक छलफल र सम्वादको प्रयास भइरहेको र किसानको समस्याको समाधानका लागि पहल पनि गरिरहेको मरासिनीले बताए। यसअघि जिल्ला प्रशासन कार्यालयकै पहलमा करिब ४३ लाख रकम भुक्तानी गराएको उनको भनाइ छ।

किसानका प्रतिनिधिसँग छलफल र सम्वाद जारी रहेकोमा सरकारले तोकेको म्यादसम्म रकम भुक्तानीका लागि पर्खिनुपर्ने अवस्था रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.