|

काठमाडौं : नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ।

रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो।

विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। रेल चालकका लागि कम्तीमा कक्षा १२ वा सो सरहको अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए।

त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ। विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ।

चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ। कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन। अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र ५० हजारसम्म कैद हुनेछ।

रेल चालक वा सहचालक अनुमतिपत्र अरुलाई दिँदा पनि छ महिनासम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ। उनले भने, “विधेयकमा चालक र सहचालक दुवै हुन योग्य हुनुपर्ने व्यवस्था गरिएको छ।”

सो विधेयक अहिले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको छ। विधेयकले रेलको र यात्रुको सुरक्षाका विषयमा पनि उल्लेख गरेको महानिर्देशक मिश्रको भनाइ छ।

रेल यात्राका क्रममा यात्रुलाई क्षति पुग्दा त्यसको क्षतिपूर्तिको व्यवस्थासमेत विधेयकमा समेटिएको छ। रेलको सुरक्षाका लागि प्रहरी एकाइको व्यवस्था गर्न सकिनेछ। उनले भने, “समग्रमा रेलको भविष्यसम्मको कल्पना विधेयकमा गरिएको छ।”    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.