दाङ: प्रदेश ५ को स्थापना दिवसको अवसरमा प्रदेश एक्स्पो हुने भएको छ।
आउँदो फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा हुने एक्स्पो हुन लागेको शुक्रबार दाङको बेलझुण्डीमा आयोजना गरिएको छलफल कार्यक्रममा प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए।
प्रदेश ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश ५का १२ जिल्लाका स्थानीय तहको विशेष प्रस्तुति रहने मन्त्री केसीले बताए। त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका वस्तुको प्रदशनी राखिने समेत उनले बताए। एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराइने समेत उनले बताए।
प्रदेश ५ क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक वस्तुको बारेमा जानकारी गराउन एक्स्पोमा राखिने उनले बताए। त्यसैगरी मन्त्री केसीले उक्त कार्यक्रमले एक मन्त्रालयबाट अर्काे मन्त्रालयले र एक पालिकाबाट अर्काे पालिकाले सिक्ने अवसर प्राप्त गर्ने समेत बताए।
तीन दिनसम्म चल्ने एक्स्पोमा प्रदेश ५ भित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधि जस्ताको बारेमा समेत जानकारी गराइनेछ। त्यसैगरी मगर, थारू, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ भने सारङ्गी वाद्यवादन समेत राखिने भएको छ।
प्रदेश ५ को कला संस्कृति झल्काउने २ सय जनाको विशेष टिम तयार पारेर प्रदर्शनी गरिने बताइएको छ। नेपाली सेनाले एक्स्पोमा विशेष स्टल निर्माण गर्ने बताइएको छ। कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ।
छलफल कार्यक्रममा संघीय सभाका सांसद सुजिता शाक्यले केन्द्र सरकारको सन् २०२० लाई मध्यनजर राख्दै २० लाख बाह्य पर्यटक भित्र्याउने अभियानलाई एक्स्पोले थप टेवा पुर्याउने बताइन्।
योगा र आयुर्वेदले एक्स्पोमा विशेष प्रस्तुति रहने सांसद शाक्यले बताइन्। कार्यक्रममा एक्स्पो व्यवस्थापनको जिम्मा पाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश एक्स्पो उपमहानगरका लागि अवसर भएकाले व्यवस्थापनको पक्षमा कुनै कमि कमजोरी नरहने बताए।
मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश मन्त्रालय, स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, नेपाल संस्कृत विश्वविद्यायलगायत सदस्य रहेको मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। यसैबीच तुलसीपुर उपमहानगरपालिका १७ मा रहेको बेलझुण्डी रंगशालाको प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले अवलोकन गरेका थिए।
अवलोकनका क्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले रंगशाला, प्याराफिटको निर्माण कार्य माघ महिनामै सम्पन्न गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।