|

तनहुँ : बसाइँसराइको प्रभाव शैक्षिक क्षेत्रमा प्रत्यक्ष परेको छ। संघीयता लागू भए पनि ग्रामीण क्षेत्रको विकास धिमे गतिमा हुँदा स्थानीयवासी बसाइँसराइ गर्ने गरेका छन्। बसाइँसराइले प्रत्यक्षरूपमा शैक्षिक क्षेत्रमा देखिएको छ। बसाइँसराइले शुक्लागण्डकी नगरपालिकाका सामुदायिक विद्यालयको भविष्य संकटमा पर्दै आएको छ।

विद्यार्थी अभावले गर्दा विद्यालयको भविष्य संकटमा परेको छ। सामुदायिक विद्यालयतर्फ अभिभावकको चासो र चिन्ता घट्दै जाँदा त्यस्ता विद्यालयको भविष्य संकटमा परेको हो। गुणस्तरीय तथा अंग्रेजी पढाउने उद्देश्यले अभिभावकले बालबालिकालाई संस्थागत तथा शहरका विद्यालयतर्फ सार्ने क्रमले सामुदायिक विद्यालयको भविष्य अन्योलमा परेको छ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी घट्न थालेपछि दुई वर्षको अवधिमा शुक्लागण्डकी नगरपालिकाका पाँचवटा विद्यालय बन्द भइसकेको बताइएको छ। अरू चारवटा विद्यालय नजिकको विद्यालयमा गाभिएका छन्। सामुदायिक विद्यालयमा सिकाइको गुणस्तर र शिक्षक अभिभावकको विद्यालयप्रति कम चासोले गर्दा ग्रामीण भेगका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन्।

सञ्चालित विद्यालय पनि अत्यन्त कम विद्यार्थीको भरमा चलिरहेको तथ्यांकले देखाएको छ। शुक्लागण्डकी नगरपालिका-१० भक्कलस्थित जनकल्याण प्राथमिक विद्यालयमा यस्तो असर परेको छ। कक्षा ५ सम्म प्राध्यापन हुने उक्त विद्यालयमा जम्मा २३ विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यार्थी अत्यन्त न्यून भएकाले एउटा कक्षामा ४ जना मात्रै पठाउनु परेको शिक्षक गंगादेवी लम्सालले बताइन्। ‘स्थानीयवासी बसाइँसराइ गरी अन्यत्र गएकाले विद्यार्थी संख्या घटेको हो,’ उनले भनिन्।

गाउँमा अंग्रेजी शिक्षाको मोह बढेकाले हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था गर्न लागिएको शुक्लागण्डकी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नवराज चापागाईंले बताए। समुदायले वेवास्ताले नै सामुदायिक विद्यालय मारमा पर्ने गरेको चापागाईंले बताए।

‘बसाइँसरसाइको मारमा सामुदायिक विद्यालयमा परेको प्रत्यक्ष देखिन्छ, गाउँमा रहेका स्थानीयवासीले समेत चासो नदिदा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ चापागाईंले भने, ‘सामुदायिक विद्यालयमा योग्य शिक्षक भए पनि परिचालनको लागि जागरुक नहुँदा यस्तो अवस्थामा पुगेको हो।’ गाउँमा गुणस्तरीय शिक्षाको विकास नहुँदा बालबालिकालाई शहरमा लगेर पढाउने गरेको स्थानीयवासी बताउँछन्।

पाँच विद्यालय बन्द

विद्यार्थी अभावले तीन वर्षको अवधिमा पाँच विद्यालय बन्द भएका छन्। शुक्लागण्डकी नगरपालिकामा आर्थिक वर्ष २०७५/७६मा दुईवटा विद्यालय बन्द भएको शिक्षा शाखाले जनाएको छ। शुक्लागण्डकी–६ जाग्दीस्थित जलदेवी प्राथमिक विद्यालय र वडा नम्बर ५ बेलचौतारास्थित नुरुलुम मर्दशा प्राथमिक विद्यालय बन्द भएको शिक्षा शाखाका अधिकृत ज्योतीप्रकाश तिमल्सेनाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५मा २ नम्बर वडाको भुजीकोटस्थित भैरव प्राथमिक र १२ नम्बर वडाको बाबिया डाँडास्थित सूर्योदय प्राथमिक विद्यालय र १२ नम्बर वडाकै लामागाउँस्थित सिमाना प्राथमिक विद्यालय बन्द भएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७४/७५मा तीन विद्यालय मर्ज भएका थिए। ११ वडा नम्बरको राईपुरस्थित सिमाना प्राथमिक विद्यालय, १२ कै लामागाउँ स्थित शान्तिवर्ष प्राथमिक विद्यालय, ३ नम्बर वडाको हटेचौर स्थित कल्याण आधारभूत विद्यालय मर्ज भएको अधिकृत तिमल्सेनाले जानकारी दिए। आर्थिक वर्ष २०७३/७४मा २ नम्बर वडास्थित इन्द्रज्योती प्राथमिक विद्यालय मर्ज भएको शिक्षा शाखाले जनाएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि बालविकास केन्द्रमा दिवा खाजा, प्रविधिक शिक्षा, विद्यालय सुधार कार्यक्रम, अंग्रेजी माध्यामको शिक्षालाई जोड दिन थालिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए। विद्यार्थी अभावले बन्द हुन लागेका सामुदायिक विद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीको आर्कषण बढ्ने र अभिभावक पनि सकरात्मक बन्दै जाने विश्वास नगर प्रमुख गुरुङको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.