|

दमक : झापाका ग्रामीण क्षेत्रका विद्यालयका खानेपानी र शौचालयको समस्या रहेको छ। सरकारले सबै नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने घोषणा गरे पनि जिल्लाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरका अधिकांश सामुदायिक विद्यालयका बालबालिका ट्यूबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य रहेका हुन्।

गौरीगञ्ज-३ स्थित गौरीगञ्ज प्राथमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल ताजपुरीयाले खानेपानी योजना संचालनमा आएको भए पनि विद्यालयले आर्थिक स्रोतको अभावमा विद्यालय परिसरमा खानेपानीको धारा जडान गर्न नसकेको बताए।

२०२५ सालमा स्थापित विद्यालयमा अहिले २ सय २५ भन्दा बढी बालबालिका अध्ययनरत छन्। प्रधानाध्यापक ताजपुरीयाले शिक्षक तथा बालबालिकाले विद्यालयमा ट्यूबेलको पानी पिउने गरेको बताए।

शिवसताक्षी ४ सालमारास्थित पाथीभरा आधारभूत विद्यालयका बालबालिका पनि शुद्ध पिउने पानीको अभाव झेलिरहेका छन्। सो विद्यालयका प्रधानाध्यापक कुञ्जिबिहारी ताजपुरीयाले पनि करीब ७/८ वर्षअघि नै विद्यालयमा खानेपानीको धारा जडान भए पनि जनतास्थित पुरानो खानेपानी आयोजना एकाएक बन्द हुँदा पिउने पानीका लागि ट्यूबेलको भर पर्नुपर्ने बाध्यता रहेको बताए।

पूर्वपश्चीम राजमार्गसँगै जोडिएको शिवसताक्षी नगरपालिका भित्रैका बालबालिकाले शुद्ध पिउने पानी प्रयोग गर्न नपाउँदा बालबालिका स्वास्थ्यका दृष्टिकोणबाट जोखिममा रहेका हुन्।

यसभेगका अधिकांश बालबालिकाले विद्यालयमा खानेपानीसँगै चर्पीको समेत अभाव झेलिरहेका छन्। पाथीभरा आधारभूत विद्यालयमा यसअघि निर्माण गरिएका पक्की शौचालय नियमित मर्मत सम्भार र संरक्षणको अभावमा भत्किएर दुर्गन्धित बनेका छन्। धारामा पानी नआउने समस्याका कारण शौचालय व्यवस्थित हुन नसकेको गुनासो विद्यालयका शिक्षकको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.