|
forevertreknepal.com

नगरकोट : आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा  पर्यटन शुल्क तिर्नुपर्ने भएको छ। यसअघि सबै पर्यटकले निःशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो।

भक्तपुर र काभ्रेको सिमाना पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरे पनि सरकारी स्तरबाट कुनै शुल्क लिइने गरिएको थिएन।

अबदेखि भने पर्यटकले शुल्क तिनुपर्ने व्यवस्था गर्न दुवै जिल्लाका सरकारी अधिकारी, पर्यटन व्यवसायी र राजनीतिक दलका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गरिएको छ।

नगरकोटमा भएको बृहत् छलफलपछि नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा संयोजक रहने गरी नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की र काभ्रेतर्फको बालुवापार्टी नाल्दुम गाविस सचिव मुकुन्द गजुरेलसहित दुवै जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधि सदस्य रहेका छन्। सो कार्यदलले एक महिनाभित्र शुल्क के कति उठाउने हो सो विषयमा निर्णय गरिसक्नुपर्नेछ।

कार्यदलले निर्णय गरेपछि सबै तहमा बृहत् छलफलपछि अनुमोदन गराइसक्नुपर्नेछ। कार्यदलका संयोजक लामाले छलफलबाट पाएको म्यान्डेटलाई जसरी पनि निष्कर्षमा पुर्‍याइछाड्ने बताए। लामाले शुल्क उठाएर नगरकोटलाई व्यवस्थित बनाउने सबैको उद्देश्य पूरा गरेर नगरकोटको विकासमा खर्चिने बताए।

भक्तपुरतर्फको नगरकोट नगरपालिका घोषणा भइसकेको छ भने काभ्रेतर्फको होटल सञ्चालनमा रहेका बालुवापार्टी नाल्दुम गाविसअन्तर्गतको नाल्दुम क्षेत्र गाविसको रूपमा रहेकाले उठेको शुल्क केकसरी बाँडफाँट गर्ने भन्ने विषय जटिल देखिएको छ।

विभिन्न ठाउँमा शुल्क उठाउने पोस्ट राखेर गर्नुपर्ने भएकाले पर्यटन समितिलाई उठेको शुल्कमध्ये कति प्रतिशत छुट्याउने, नगरपालिका र गाविसलाई के कति  प्रतिशत बाँडफाँट गर्ने विषयमा गहिरो छलफल हुने अध्यक्ष लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.