|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि निर्माण गरिएको वस्ती हस्तान्तरण गरिएको छ। भूमि सुधार, सहकारी तथा गरिबी  निवारण मन्त्रालयले शनिबार बस्ती हस्तान्तरण गरेको छ।

मन्त्री पदमा अर्यालले ढोका खोलेर वस्तीका ज्येष्ठ सदस्य धनी लुहार दम्पतीलाई घर प्रवेश गराई साँचो हस्तान्तरण गरेकी थिइन्। यसै क्रममा उनले भनिन्, ‘हलिया प्रथा कलंकको रुपमा थियो, त्यसबाट मुक्ति पाइएको छ। अब आत्मनिर्भर बनेर स्वभिमानी बन्नुपर्छ।’

दासत्वबाट मुक्त भएकाले अब मुक्त हलिया भनिराख्नु पर्ने आवश्यकता नभएको उल्लेख गर्दै उनले विशेष सूचीमा राखेर गरिबी निवारणका कार्यक्रम सञ्चालन गरिने बताइन्। ‘सरकारले विशेष सूचीमा राखेर कार्यक्रम ल्याउँछ, अब हलिया भन्नु पर्ने अवस्था हुँदैन,’ उनले भनिन्, ‘गरिबको सूचीमा राख्ने र गरिबलाई धनी बनाउने कार्यक्रम ल्याउँछौं।’

सरकारी पुनर्स्थापन कार्यक्रमअन्तर्गत बागफाँटामा तीन दर्जन परिवारलाई घर निर्माण गरी पुनर्स्थापन गरिएको थियो। 

कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद डा. दीपकप्रकाश भट्टले संविधानको व्यवस्थाअनुसार गरिब विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको बताए। निर्वाचन पूर्वाधार कार्यक्रमअन्तर्गत गत वर्ष भीमदत्त र महाकाली नगरपालिकामा ३५ घर निर्माण गरिएको र यस वर्ष ७० घर निर्माण हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.