|

झापा (दमक) : यात्रुबाहक सवारी साधनको तीव्र गतिका कारण सडक तथा सवारी दुर्घटना हुने गरेको भन्दै झापामा 'टाईमकार्ड' लागु गरिएको छ। सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु बोक्ने सार्वजनिक सवारीसाधनमा पनि 'टाइमकार्ड' लागू गरेको हो।

यसअघि टिप्परमा टाइम कार्ड लागू गरिएको थियो भने आइतबारदेखि यात्रुवाहक बसमा पनि यो व्यवस्था लागु गरिएको हो। झापाकै व्यस्तमध्येको दमकस्थित बसपार्कमा बिहानैदेखि टाईमकार्ड लागु गराउन ट्राफिक प्रहरी खटिएको छ। टाईमकार्ड लागु गरिएपछि निर्धारितभन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाईने ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानमा सवारी साधन पुगेको समय कार्डमा उल्लेख हुने र अर्को स्थानमा चेक गर्दा तोकिएको समय भन्दा छिटो पुगेमा जरिवाना असुल गरिने जनाईएको छ। टाईमकार्डको नियम अनुसार पश्चिमतर्फ झापा प्रवेशद्वार ताराबारीदेखि विर्तामोडसम्मको ३८ किलोमिटर दुरीलाई एक घण्टाको समय निर्धारण गरिएको छ। यो दुरी पार गर्न निर्धारित समय अवज्ञा गर्ने सवारीचालकलाई दण्डित गरिने छ। 

यस्तै, विर्तामोडदेखि काकडभिट्टासम्मको १७ किलोमिटरका लागि ३० मिनेट समय निर्धारण गरिएको छ। पहिलो चरणमा ट्राफिक प्रहरीले दुइ सयभन्दा बढी यात्रुबाहक बसलाई टाईमकार्ड वितरण गरेको छ।

यात्रुवाहक सवारीसाधनका चालक र सहचालकले बढि यात्रु चढाउन उछिन–पाछिन गर्ने तीव्र गतिमा चलाउने गरेकाले दुर्घटना हुने गरेको पाइएपछि यो नियम लागु गरिएको गरेको झापाका ट्राफिक प्रहरी प्रमुख होम अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.