|

दमक : दमक नगरपालिकाले नगरका विपन्न र भूमिहीन परिवारका लागि घर निर्माण गरी दिएको छ। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक १ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै प्रकारका घर निर्माण गरिएको हो। 

नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिक रुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा २३ परिवारका लागि नमुना वस्ती निर्माण गरिएको नगरप्रमुख रोमथान ओलीले जनाएका छन्। ती घर निर्माण पूरा भएकाले केही दिनमा नै हस्तान्तरण प्रक्रिया थालिने उनले जानकारी दिए। 

नगरपालिकाको स्वामित्वमा रहेको जमिन व्यवस्थापन गरी घर निर्माण गरिएको हो। भान्सा कोठासहित चारकोठा रहेका प्रत्येक घरमा शौचालयको समेत व्यवस्था रहेको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन्। यस बस्तीमा बसोबास गर्ने सात परिवारको टुंगो लागिसकेकाले चाँडै घर हस्तान्तरण गरिने उनले बताएकी छन्। 

बस्तीको संरक्षण, सुरक्षा तथा सरसफाइका लागि घर हस्तान्तरणपछि सोही ठाउँमा बसोबास गर्नेको समिति बनाई जिम्मेवारी प्रदान गर्ने नगरपालिकाको तयारी रहेको छ।

प्रधानमन्त्रीसमेत रहेका झापा क्षेत्र नं.७ का प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीमार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट एक करोड ४० लाख र नगरपालिकाले एक करोड रुपैयाँ ती घर निर्माणमा खर्च गरेको नगरपालिकाले जनाएको छ। सोसँगै प्रदेश सरकारमार्फत प्राप्त ३१ लाख सशर्त अनुदानको रकम समेत खर्च गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

बस्तीमा नगरपालिकाले विद्युत् तथा खानेपानी समेत उपलव्ध गराउनेछ। तर त्यसबापतको मासिक शुल्क भने घर पाउनेले बुझाउनुपर्नेछ। विद्युत्, खानेपानी तथा सरसफाइको जिम्मेवारी घर पाउने व्यक्तिको हुनेछ भने उनीहरूले सो घरजग्गा बेचबिखन गर्न पाउने छैनन्। घर पाएबापत कुनै पनि शुल्क नगरपालिकालाई तिर्न नपर्ने समेत नगरपालिकाले जनाएको छ। 

के छ मापदण्ड?

नगरपालिकाले निर्माण गरेका घर पाउनका लागि नगरपालिकाले केही मापदण्ड पनि बनाएको छ। नगरप्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमिन नभएको परिवार हुन आवश्यक छ। यस्तै, नगरपालिकाले उठाएका दमक ७ को सुनचाँदी लाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पनि ती घर पाउनेको प्राथमिकतामा राखिएको छ। 

थप निर्माणको तयारी

नगरपालिका ७ मा समेत सुकुमबासीका लागि थप घर निर्माणका लागि जग्गा व्यवस्थापन शुरु गरेको छ। दमकको वडा नं ७ मा ऐलानी जग्गाको संरक्षण गरी अर्को बस्ती निर्माण गर्न तयारी थालिएको हो। सो वडामा पर्ने गोसलाइनमा रहेको एकै ठाउँको करिब १८ कठठ भन्दा बढी ऐलानी जग्गाको घेराबारा गरेर संरक्षणको काम गरिएको छ।

वडाध्यक्ष भीमप्रसाद पौडेलले वडा नं १ मा पर्ने हाल नगपालिकाबाट निर्मित एकीकृत नमुना बस्तीनजिकै सीमामा वडा नं ७ भित्र थप नमुना बस्ती निर्माण गर्ने उद्देश्यले तार घेरा गरी जग्गाको संरक्षण गरिएको जनाएका छन्। आवश्यक बजेटको बन्दोबस्ती स्थानीय तहबाट नै गरेर सार्वजनिक जग्गाको संरक्षणमा लागेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.