|

बागलुङ : जैमिनी नगरपालिकाले एक साता अघिदेखि रुख बिरुवा काट्ने अभियान थालेको छ। नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिको रुख नहटाइएमा जवरजस्ती हटाएर खर्च भराउने समेतको चेतावनी दिएको छ। 

वर्षौ लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ। तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिन बाध्य भएको नगरपालिकाले जनाएको छ। यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलेको छ।

नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो। घरको १० मिटर वरिपरि रुखै नराख्ने भन्ने सम्म लहर चल्यो। त्यो अभियानले पूर्णता भने पाइसकेको छैन। पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि यो अभियान चलेको छ। रुख काट्ने अभियानलाई कतिपयले टिकाटिप्पणी पनि गरेका छन्। तर उत्पादकत्व बढाउने र सामाजिक सुरक्षाका लागि यो उपयोगी भएको भन्नेहरू पनि छन्। 

‘खेतीपाती त भएन। जंगली जनावरको पनि डर भयो’ बागलुङ नगरपालिका ५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भने, ‘अहिले रुख काटेर खेती लगाउने, झाडी पन्छाएर सुरक्षित बन्ने काम थालिएको छ।’ झाडी फाँड्दा कृषि उत्पादकत्व बढ्न थालेको समेत उनले बताए। 

दुइ साता अघि बागलुङको धौलागिरी बहुमुखी क्यामपसमा रुख काटेको विषयले ठूलै बहस चलायो। रुख काटेर वन कार्यालयको मुद्दा खेप्ने कुरामा क्याम्पस प्रशासन तयार रहेको हो कि भन्ने टिप्पणी पनि भए। बागलुङ नगरपालिका १४ मा हवाइजहाज चलाउने निहुँमा साँढे तीनसय सल्लाको रुख काटेपछि स्थानीयले झमेला खेपेको धेरै भएकै छैन। तर पनि रुख काट्ने अभियानले जतासुकै तयारी भएको छ। 

कुनै बेला रुख रोपौ हरियाली बढाऔं भन्ने नारा लगाएर संरक्षणको अभियान गरिन्थ्यो। अहिले ग्रामीण बस्तीमा हरियाली मात्र होइन, झाडी बढेको भन्दै एकाएक किन झाडी फाँड्ने अभियान आयो? यसमा अधिकांसको मत मिलेको छ। झाडीको कारण चितुवा, बाँदर र अन्य जंगली जनाबरको बिगबिगी बढ्यो। 

बलेवा क्षेत्रमा अघिल्ला बर्ष चितुवाको आतंक मच्चिएको थियो। यो कुरा वन कार्यालय भने सुन्न तयार छैन। ‘जनताको खेतबारीको उत्पादकत्व घटेको, दैनिक जीवन असुरक्षित भएको विषयमा वन कार्यालयले चासो राखेको पाइएन’ धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केबी राना मगरले भने, ‘मुद्दा परे म खेप्छु भनेर अस्पताल सफाई गरियो।’ यस अघि मुद्दा पर्ने डरले अस्पताल झाडी बनेको उनले टिप्पणी गरे। 

‘हरियो वन नेपालको धन’ भन्ने नारा महत्वको भए पनि कुकाठका बिरुवा हुर्काएर फाइदा नभएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको मत छ। ‘नियम अनुसार सल्लाको रुक कटान गरेर सफा पार्न खोज्दा सालका रुख काटियो पनि भन्नेहरू आए’ उपाध्यायले भने, ‘सरसफाई गरेर क्याम्पसलाई राम्रो बनाउन खोजेको हो।’ 

काठेखोला गाउँपालिकाले पनि काठ नहुने अग्ला रुखहरू फाँड्ने अभियान गत वर्षदेखि थालेको छ। काठेखोला ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भने, ‘उत्पादन नदिने रुख फालेर सुन्तला रोप्ने अभियान चलाएका छौं। सुन्तला रोप्दा एउटै रुखबाट वर्षेनी १० हजार फाइदा हुने जग्गा कुकाठले ओगटेको छ।’

सयौं रुख काटेर हजारौं बिरुवा रोपेको उनले बताए। तर जिल्ला वन अधिकृत रोमराज पाण्डे भने व्यक्तिकै जग्गा भए पनि एकैपटक धेरे रुख काट्ने बिषय राम्रो नभएको बताउँछन्। उनले पर्यावरण बिगार्दा बाढी पहिरो निम्तने खतराबारे सचेत बन्न नसकेको बताए।

‘व्यक्तिले आफ्नो जमिन भित्रको रुख काटेर आफ्नै खपत गर्छ भने केही फरक परेन। तर बिक्री गर्दा अनुमति लिने र १३ प्रतिशत भ्याट र १.५ प्रतिशत बिक्री कर तिर्नुपर्छ’ पाण्डेले भने, ‘विकासका लागि बिरोधी बन्न खोजेका भने होइनौं।’  अनुत्पादक रुख काटेर सुन्तला लगाउँदा दोब्बर फाइदा हुन्छ भने त्यस्ता काममा अवरोध नगर्ने उनले बताए। चौतारो तथा बर-पिपल संरक्षणसम्बन्धी ऐनले स्थानीय तहलाई अधिकार दिएको उनले बताए।

‘ऐन अनुसार स्थानीय तहले संरक्षणमा लाग्नुपर्नेमा फँडानीमा लाग्नु भयो भने राम्रो भएन’ उनले भने, ‘जनप्रतिनिधिबिरुद्ध हामी लड्न पनि सक्दैनौं। लड्ने कुरा पनि भएन।’ सार्वजनिक क्षेत्रको रुख काट्ने र बिक्री गर्ने सन्दर्भमा वन कार्यालयको अनुमति लिनुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.