राजनीति

'सरकारले लुम्बिनीको बृहत्तर विकासको काम थाल्यो'

फाइल तस्बिर
माघ ५, २०७६

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले कामको थालनी गर्ने बताएका छन्।

    बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा लुम्बिनी विश्व शान्तिनगरको कार्यान्वयसम्बन्धी छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन्। लुम्बिनिको विकासका सम्बन्धमा यसअघि धेरै छलफलहरू भएको र अब सरकारले कामको थालनी गर्ने उनको भनाइ छ। लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए।

    ‘हामीले त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्यौँ। जसलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा सरकारले राख्यो। निर्माणको अन्तिम चरणमा पुगिसकेका छौँ। एयरपोर्ट पछि हट्दैन। त्यो अगाडि बढिसक्यो। त्यसको सञ्चालन छिट्टै गर्दैछौँ’, भट्टराईले भने।

    मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै उहाँले विमानस्थल मायादेवी मन्दीर, देवदह, सैनामैना, तिलौराकोट लगायतका क्षेत्रहरूलाई एक अर्कासँग जोड्नुपर्ने बताए।

    लुम्बिनी क्षेत्रमा रहेको क्षेत्रहरू सबैको आ-आफ्नो महत्व रहेको बताउँदै उनले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि जाने विद्यार्थीलाई ८, १० दिन त्यहाँ बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। लुम्बिनीको बृहत्तर विकाससँग प्राकृति, सांस्कृतिक कुरा पनि जोड्नुपर्ने भट्टराईको भनाइ छ। विदेशी लगानीकर्ताको पहिलो रोजाइमा लुम्बिनी क्षेत्र नै पर्ने गरेको बताउँदै भट्टराईले लुम्बिनीमा यो गर्छु, त्यो गर्छु भन्ने अवधारणाहरू लिएर आउने पर्यटकहरू आकर्षणसमेत बढ्दै गएको बताए।

    कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेयय) ले बृहत्तर लुम्बिनीको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए। बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र २ महिनात्रिम ग्लोबल टेण्डर आह्वान गरिने जानकारी दिए। बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब बराबरको बजेट आवश्यक पर्ने बताउँदै उनले बजेट अभाव नभए चाँडै नै काम सम्पन्न हुने विश्वास दिलाए।

    इन्जिनियरिङ्ग संस्थान पुल्चोकका सह प्राध्यापक डा. सञ्जय उप्रेतीले लुम्बिनीको बृहत्तर विकासबाट सभ्य, सुसंस्कृत र अनुशासित नागरिक निर्माणमा सहयोग पुग्ने बताए। यसले देशको समृद्धिमा पनि बल पुग्ने नभई दक्षिण एसियामा नै नेपालको पर्यटनले राम्रो र द्रुत गतिमा सफलता प्राप्ग गर्‍यो भन्ने ठाउँमा पुग्न सकिने बताए।

    छलफलमा कार्यक्रममा कोषका उपाध्यक्ष त्रिपाठी, योजना विद् डा.महेन्द्र सुब्बा र प्राध्यापक उप्रेतीले बहृत्तर लुम्बिनीको विषयमा कार्यपत्र पेश गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पुन निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]