|

धनकुटा : धनकुटामा जारी स‍हिद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ।

प्रतियोगितामा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङले चौदण्डीगढी फुटबल टिम उदयपुरलाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न खेलमा खेल सुरु भएको ८ औं मिनेटमा उदयपुरकी मनिका राईले गोल गर्दै टीमलाई अग्रता दिलाएपनि खेलको २४ औं मिनेटमा ताप्लेजुङकी इन्द्रमाया गुरुङले बराबरी गोल फर्काइन्।

खेलको २९ औँ मिनेटमा पुन ताप्लेजुङकी अनुष्का शेर्पाले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाइन्। त्यसपछि पुन: उदयपुरकी मनिता तामाङले दोस्रो हाफको २२ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याइन्। त्यसको ३ मिनेट पछि वा दोस्रो हाफको २५ औं मिनेटमा ताप्लेजुङकी अनुष्का शेर्पाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाइन्।

निकै प्रतिष्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन सकेन र खेल ताप्लेजुङले ३–२ गोल अन्तरले उदयपुरलाई पराजित गर्‍यो। खेलको वुमन अफ द म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भइन्। उनले नगद ३ हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताअन्तर्गत सोमबार मोरङ ११ र कन्काइ फुटबल क्लब झापा तथा धनकुटा फुटबल क्लब र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुङ विच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैया सहित गोल्ड कप, मेडल र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। 

विस. २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र र उनका परिवार सवारी हुँदा आन्दोलन गर्ने क्रममा  बम प्रहार गर्दा सहादत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो।

शहीद घोषणा गरेकै दिनको अवसर पारेर धनकुटामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.