|

दाङ : नेपाली कांग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बहुमतको कम्युनिष्ट सरकारले राज्यमा आतंक मच्चाएको बताएका छन्।

दाङको घोराहीमा सुरु भएको नेपाल मानव अधिकार संगठनको १४ राष्ट्रिय सम्मेलनलाई आइतबार उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले  विभिन्न विधेयकका नाममा आम नागरिकलाई अप्ठ्यारोमा पार्नेदेखि संचार माध्यमलाई समेत अंकुश लगाउन खोज्दा लोकतन्त्र माथिको उपहास हुने टिप्पणी गरे।

देउवाले लोकतन्त्रमाथि एकपछि अर्को गरी पटकपटक आक्रमण हुँदा मानव अधिकार तथा मानवअधिकारवादीहरू पिल्सिएकाले अब सबै एक ठाउँमा उभिएर यसको प्रतिवाद गर्नु पर्नेमा जोड दिए। 

संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले बहुमतको आडमा राज्यलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधि नगर्न सत्तारुढ दललाई आग्रह गरे। उनले अझै पनि सरकार नसच्चिए यसको भागीदार आफैँ हुने समेत चेतावनी दिरे।

सो अवसरमा मानव अधिकारकर्मी विजूल कुमार विक, पूर्वअध्यक्षहरू आनन्द अर्याल, कपील श्रेष्ठ, चरण प्रसाइँ, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बोलेका थिए।

संगठनको उद्घाटन सत्र सकिएलगत्तै अब बन्द सत्र सुरु भएको छ। बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ। २१ सदस्यीय संगठनको कार्यकाल ३ वर्षको रहने महासचिव महामुनिश्वर आचार्यले बताइए। सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट मानवअधिकारवादीहरू सहभागी भएका छन्। अधिवेशन सोमबारसम्म चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.