|

काठमाडौं : यतिखेर काठमाडौंमा शहीद स्मारक ए डिभिजन लिग फुटबलको सातौं चरणका खेल भइरहेका छन्। प्रतियोगिता जति अघि बढ्दै छ : लिग अंकतालिकामा रोमाञ्चकता थपिँदैछ। सातौं चरणका अन्तिम दुई खेल बाँकी रहँदा तीन क्लबले १३ अंकसहित शीर्षस्थान कब्जा गरेका छन्। अन्य तीन क्लबले ११ अंक जोडेका छन्। अंकतालिका हेर्दा जारी लिगमा उपाधि होड कति रोचक हुँदै गएको छ भन्‍ने प्रष्ट हुन्छ।

आकाश हेर्दै, मैदान छिर्दै

पाँच वर्षपछि दशरथ रंगशालामा फर्किएको शहीद स्मारक ए डिभिजन लिगमा यो पटक हिउँदे झरीको प्रभाव राम्रै परिरहेको छ। लगातारको खेलले थाङथिलो बनेको रंगशालाको मैदान पानीले भिजेपछि हिलाम्ये बनेको छ।

यसैकारण जारी लिगका खेलहरु कहिले एन्फा कम्प्लेक्स त कहिले दशरथ रंगशालामा भइरहेका छन्। वर्षाले बिथोल्दा एन्फाको खेलतालिका निरन्तर प्रभावित भइरहेको छ। मैदानमा पनि उत्कृष्टभन्दा निरस खेलहरु भइरहेका छन्। 

जारी लिगका तीन उत्कृष्ट भीडन्त

लिगमा सातौं चरणका खेलहरु सम्पन्न हुँदै गर्दा तीनवटा खेलहरु निकै रोमाञ्चक रहे। अंग्रेजी नयाँ बर्षको शुरुकै दिन अर्थात १ जनवरीमा आर्मी र थ्रीस्टारबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निकै रोमाञ्चक रह्यो। दुबै टिमले कायम गरेका उत्कृष्ट पेस, शानदार पास र गोलका लागि सिर्जना गरिएका आकर्षक अवसरहरु हेर्न लायक थिए। आर्मीले २–० गोलअन्तरले विजयी नतिजा निकालेको यो खेलमा दुवै गोल उत्कृष्ट गरेको थियो। 

प्रतियोगितामा दोस्रो रोमाञ्चक भीडन्त मनाङ र मच्छिन्द्रबीच ६ जनवरीमा भयो। निर्धारित समयमा दुवै टीमले प्रतिष्पर्धात्मक खेल पस्किए। दशरथ रंगशालामा भएको यो खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। निर्धारित खेल अवधिभर दुबै टिमले सनसनीपुर्ण प्रदर्शन गरे। तर निर्धारित ९० मिनेटपछि मैदानमा भएको गतिविधिले खेलको रोमाञ्चकता छायाँमा पार्‍यो। खेल सकिएपछि मनाङ र मच्छिन्द्रका खेलाडी एकअर्कोविरुद्ध भिड्दा केहि खेलाडीहरु जरिवाना र प्रतिबन्धमा समेत परे।

प्रतियोगितामा तेस्रो रोमाञ्चक खेलका रुपमा मनाङ र थ्रीस्टारबिच दशरथ रंगशलामा १८ जनवरीमा भएको खेल हो। सातौं चरणमा एकअर्का विरुद्ध भिडेका यि चिरपरिचित प्रतिद्धन्दिले रंगशालामा उपस्थीत दर्शकलाई निरास बनाएनन्। पहिलो हाफमा मनाङ विरुद्ध हावि भएको थ्रीस्टार दोस्रो हाफमा दबाबमा परेको थियो। स्टार खेलाडीहरुलाई क्लबमा अनुबन्धन नगरेपनि आफ्नो ब्रान्डलाई कायम राख्ने प्रदर्शन गर्न दुबै क्लब सफल भएका थिए। दुबै टिमले २–२ गोलको बराबरी गर्दै खेलमा अंक बाँडे।

दर्शक तान्न नसकेको प्रतिष्पर्धा

गत २४ मंसिरका दिन रंगशालामा नेपाल र भुटानबिच दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेल हुँदै थियो। खेल हेर्ने टिकट नपाएर हजारौं दर्शकहरु त्रिपुरेश्वर चोकमै रोकिएका थिए। टिकटको लाइनमा बसेका दर्शकले पुलिसको लाठीसमेत खाए। सोही भीड देखेर उत्साही भएको एन्फाले फूटबल संस्कृति बलियो भएको ठहर गर्दै घरेलु लिगका खेलमा पनि उल्लेख्य दर्शक आउने दावी गरेको थियो।

 

सोही अनुसार रङ्गशालामा साधारणतर्फ २०० र भिआईपीतर्फ ५०० रुपैयाँका दरले टिकट मूल्य तोक्यो। तर एन्फाले अपेक्षा गरेजस्तो भएन, खेल हेर्न दर्शक आएनन्। रङ्गशालाका प्याराफिट रित्तै देखिएपछि दर्शक तान्‍न एन्फाले खेल हेर्न आउने दर्शकका लागि आकर्षक पुरस्कारको घोषणा गर्‍यो। शुरुमै टिकटदरमा लालच देखाएको एन्फाको यस्तो घोषणलाई पनि खेलप्रेमीले वेवास्ता गरिदिए। 

जन्मिएनन् 'स्टार'

अहिलेसम्म जारी लिगका आधाभन्दा बढी खेल सकिएका छन्। तर आकर्षक खेल प्रस्तुत गरि एकल प्रभुत्व छाड्ने खेलाडी अहिलेसम्म देखिएका छैनन्। राष्ट्रिय लिगमा उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय टोलीमा पर्ने अवसरलाई कुनै पनि नयाँ खेलाडीले अहिलेसम्म छोप्‍न सकेका छैनन्। 

एपीएफका आशिष लामाले आइतबार भएको खेलमा गोल गर्दै लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी गरेका छन्। यसअघि सन्तोष साहुखलको नाममा यो रेकर्ड थियो। सातौं चरणमा पुग्दासम्म लिगमा कुनै खेलाडीले एकै खेलमा तीन गोल (ह्याट्रिक) गर्न सकेका छैनन्।

क्लबहरुले भित्र्याएका विदेशी खेलाडीले लिगमा औषत प्रदर्शन गरिरहेका छन्। 

छैटौंको तुलनामा सातौं चरणमा बढी गोल

जारी लिगको छैटौं चरणका खेलमा निकै कम गोल भए, तर सातौं चरणका खेलमा गोलसंख्या बढेको छ। छैठौं चरणका आधादर्जन खेलमा जम्मा पाँच गोलमात्र भएको थियो। तर सातौं चरणमा अन्तिम दुई खेल बाँकी रहँदै १७ गोल भइसकेको छ। फ्रेन्डस र सरस्वतीबीच आइतबार भएको प्रतिष्पर्धामा सर्वाधिक धेरै गोल भयो। फ्रेन्डसले सरस्वतीलाई ४–१ ले हराउँदा यो खेलमा पाँच गोल भएको हो। 

त्यस्तै, सातौं चरणमा पुलिसले जावलाखेललाई २–० ले हराउँदा मनाङ र थ्रीस्टारले २–२ गोल गरे। एनआरटीले एपिएफलाई ३–२ ले हरायो। सातौं चरणमा अझै दुई खेल हुन बाँकी छ। सोमबार उपाधि दाबेदार आर्मीले च्यासलसँग र ब्रिगेडले संकटासँग प्रतिष्पधा गर्नेछ।

(फोटो स्रोत : रासस र एन्फाको आधिकारिक फेसबुक पेज)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.