|

सिमरा : आधाघण्टाको दूरीमा रहेका बारा पर्साका दुई ठूला सरकारी कार्यालयको कागजपत्र र फाइल एक अर्काकोमा पुग्नै डेढ महिना लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।  तर अचम्म नमान्नुस् यो सत्य हो। 

उच्च सरकारी वकिल कार्यालय वीरगञ्जले मुद्दाको पुनरावेदनसँग सम्वन्धित फाइल र आवश्यक कागजपत्रहरू बारा जिल्ला अदालतबाट माग्दा  डेढ महिनासम्म लाग्ने गरेको छ। बारा पर्सा र रौतहट जिल्ला अदालतबाट भएका फैसला उपर उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगञ्जमा प्रतिवादीले पुनरावेदन गरेमा वा जिल्ला अदालतको फैसला उपर परेका  रिट निवेदनको सुनवाइका लागि आवश्यक फाइल र कागजपत्रहरू वीरगञ्ज आइपुग्न समय लाग्ने गरेको छ।

‘बाराबाट दूरीका हिसाबले उच्च अदालत १५ किलोमिटर पनि छैन। मान्छे आउन आधाघन्टा पनि लाग्दैन। तर त्यहाँबाट  हुलाकमार्फत पठाएका फाइलहरू हामी कहाँ  एकदेखि डेढ महिनामा बल्ल आइपुग्छ’ उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सह-न्यायाधिवक्ता कृष्णमोहन कोइरालाले भने, ‘हुलाक पहिला जस्तो चल्ती पनि  छैन। उसले पनि भारी पुर्‍याउन हप्ता १० दिन फाइल पर्खन्छ।’

उच्च सरकारी वकिल कार्यालय वीरगञ्जले उच्च अदालतमा आएका  मुद्दा जिल्लाको फैसला उपर आउने तर जिल्ला अदालतबाट फाइलहरू समयमै नआउदा मुद्दाको प्रकियामै ढिलो हुने गरेको गुनासो गरेको छ। ‘यसले हाम्रो समग्र काममा अवरोध पुर्‍याएको छ’ कोइरालाले भने, ‘अहिले हाम्रो कामको रखतारमा अवरोध गर्ने भनेको सबैभन्दा ठूलो कारण फाइल नै हो। त्यसपछि जनशक्ति कम भएर पनि समस्या भइरहेको छ।’ 

अस्थायी इजलाश वीरगञ्जमा चालु आर्थिक वर्षको ६ महिनामै मुद्दाको चाप ४ हजार नाघिसकेको छ। यी मुद्दाहरू अस्थायी इजलाश वीरगञ्जअन्तर्गतका बारा, पर्सा, रौतहट जिल्ला अदालतको फैसला उपर प्रतिवादी र सरकारी पक्षले दायर गरेका हुन्। 

‘जिल्ला अदालतबाट भएका फैसलामा सरकारी पक्ष हार्छ वा मुद्दाको प्रतिवादीले हार्छ। जो हार्छ उसले पुनरावेदन गर्छ’ सह न्यायाधिवक्ताले भने, ‘हामीले पुनरावेदन गर्नु परेको खण्डमा फाइल पहिले नै यहाँ आइसक्छ। तर प्रतिवादीले पुनरावेदन गर्‍यो भने त्यो फाइल हामीले मगाउनुपर्छ। त्यतिबेला धेरै समय लाग्छ।’ 

आवश्यक फाइलहरू समयमै नआउँदा मुद्दाको प्रकियामा धेरै ढिलो हुने र सम्रग न्याय प्रणालीकै कामकाजमा समस्या हुने गरेको उच्च सरकारी वकिल कार्यालय वीरगञ्जले जनाएको छ। ‘हामीले फलानो फलानो फाइल पठाई दिनु भनेर इमेलबाट गर्छौ। त्यो फाइल उहाँहरूले हुलाकमा हाल्नु हुन्छ। आकस्मिक बाहेकका

फाइल मागेको एकदेखि डेढ महिनामा आइपुग्छ’ कोइरालाले भने, ‘मुद्दामा सम्वन्धित फाइल अध्ययन नगरी अगाडि बढ्न सकिदैन। तर फाइल समयमै आउँदैनन्।अप्ठारो छ।’

अस्थायी इजलाश वीरगञ्जका प्रवक्ता निलप्रसाद पनेरुले भने रौतहट जिल्ला अदालतबाहेक मुद्दाको प्रकृति हेरेर बारा र पर्सा जिल्ला अदालतबाट आवश्यक कागजपत्र र फाइलहरू व्यक्तिकै हातबाट ल्याउने गरेको बताए। ‘रौतहटबाहेक बारा र पर्साका मुद्दाका मुख्य फाइलहरू गाडीबाट आउछ’ प्रवक्ता पनेरुले भने।

बारा, पर्सा र रौतहट जिल्ला अदालतबाट भएका कतिपय फैसलाहरू उच्च अदालतमा पुनरावेदन भइसक्दा जिल्ला अदालतबाट फैसला तयार गर्न समय लाग्ने भएका कारण पनि उच्च अदालतमा फाइलहरू आउन ढिला-सुस्ती हुने गरेको पनेरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.