|

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका दुई जना युवाले व्यावसायिक रुपमा तातोपानीको वेँसीमा शुरु गरेको माछापालनले अहिले यस क्षेत्रका युवाका लागि प्रेरणाको श्रोत बनेको छ। स्थानीय सुजन राम्जाली र इन्द्र थापाले २० लाखको लगानीमा २०७५ सालबाट व्यावसायिक रुपमा शुरु गरेकाले विदेश नगई स्वदेशमा नै केही गरौं भन्ने युवाका लागि प्रेरणाको श्रोत बनेको हो।

व्यवसायी युवा राम्जालीले १४ वर्षसम्म पोखरा बसेर व्यावसायसँगै भुजुङखोलाको माछा फर्म, गण्डकी रेन्वो ट्राउट फर्म र क्षेत्रदीप रेन्वो ट्राउट फर्ममा माछापालनसम्वन्धी आवश्यक सीप र ज्ञानआर्जन गरी आफ्नै गाउँमा फर्केर माछापालन शुरु गरेको बताए।

राम्जाली र थापाले तातोपानी रेन्वो ट्राउट फर्म दर्ता गरी ८ वटा पक्की पोखरीमा शुरु गरेको यस व्यावसायमा अहिले २५ हजार माछाका भुरा हुर्किँदै छन्। फर्मका संचालक राम्जालीले ३५० किलोग्राम माछा बिक्री भएका र ग्राहक फर्म खोज्दै माछा पोखरीमा नै आउने गरेको पनि बताए।

उनले ठाडो खोलाबाट आउने चीसो पानी पाइपमार्फत ल्याई ८ वटा पक्की पोखरीमा युवाद्वयले गरेको माछापालन हेर्नका लागि बेनी-जोमसोम-कोरला सडकबाट मुस्ताङ जाने वा मुस्ताङबाट फर्केर बेनी आउने स्वदेशी वा विदेशी पर्यटक समेत आउने गरेको बताए।

‘यही फर्म र यहाँको माछापालन देखेर विदेश जाने भनेर राहदानी बनाएका कतिपय युवाले समेत राहदानी थन्काएर गाउँमा नै व्यावसाय गरेर बसेका छन्', त्यसैगरी फर्म संचालक इन्द्र थापाले भने, ‘एकैचोटी धेरै पैसा कमाउने लोभ नहुने र विस्तारै मिहिनेत गर्दै जाने हो भने यस्तै व्यावसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ।'

२०७२ सालमा सामान्य पोखरीमा परीक्षणको रुपमा गरेको माछा पालन सफल भएपछि २०७५ सालदेखि व्यावसायिक रुपमा नै लगानी वृद्धि गरी माछापालन गरेको थापाले बताए। राम्जालीले फर्ममा अहिले करिब ३५० किलो माछा बिक्रीका लागि तयार भएका, २ सय किलो जति १ महिनापछि तयार हुने र २५ हजार भुरा अलग्गै पोखरीमा राखिएको बताए।

प्रतिकिलो १ हजार ३ सयका दरले पोखरीबाट नै माछा बिक्री हुने हुँदा बजारको कुनै समस्या नभएको उनको भनाइ थियो। यस वर्ष ६ लाख ५० हजारको करिब ५ सय किलो माछा बिक्री गर्ने तयारीमा रहेका संचालक द्वयले अर्को वर्ष १० लाख भन्दा बढीको माछा बिक्री गर्ने योजनाका साथ काम गरिरहेको बताए।

यसरी तातोपानी रेन्वो ट्राउट फर्म झैं मिहिनेत गर्ने हो भने स्वदेशमा नै वसेर पनि पैसा कमाउन सकिन्छ भन्ने कुराको बलियो उदाहरण बनेको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका वडाअध्यक्ष ओमप्रसाद आगामीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.