समाज

धनुषामा किशोरीमाथि बलात्कार प्रयास, नगर प्रमुख र प्रहरी नै घटना मिलाउन जुटे

पीडितलाई झुलाउँदै प्रहरी

माघ ६, २०७६

    जनकपुरधाम : धनुषामा एक किशोरीमाथि बलात्कार गर्नेलाई बचाउन नगर प्रमुखदेखि प्रहरी अधिकारीसम्म लागेको खुलेको छ।

    शहिदनगर नगरपालिका-९ विर्ताकी एक १५ वर्षीया दलित किशोरी दिशा गर्न घरदेखि करिब डेढ किलोमिटर टाढा चोरामा पुगेकी थिइन्।

    त्यही बेला शहिदनगर नगरपालिका-२ चोरा कोइलपुरका अकलम नदाफले समातेर प्रेम प्रस्ताव राखे। किशोरीले अस्वीकार गरिन्। त्यसपछि नदाफले जबरजस्ती करणीको प्रयास गरे। घटना शनिबार दिउँसो डेढ बजेको हो।

    जबरजस्ती गर्न खोज्दा किशोरी कराउन थालिन्। किशोरी कराएर स्थानीय आएपछि नदाफ भाग्‍न सफल भए। प्रहरीका अनुसार उनको खुट्टा भाँचिएको छ।

    भाग्‍ने क्रममा खुट्टा भाँचिएपछि नदाफका अभिभावकले उल्टै कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय यदुकोहामा खबर गरे। प्रहरीले विर्ताका लालकुमार सदालाई नियन्त्रणमा लियो।

    किशोरीको घर पुगे पनि अभिभावक कोही नभएपछि प्रहरीलाई तत्कालै खबर गर्न सकिनन्। जब किशोरीकै छिमेकी लालकुमारलाई प्रहरीले नियन्त्रणमा लिए।

    त्यसपछि घटनाको सत्य पत्ता लगाउन स्थानी जुटे। स्थानीयकै प्रयासमा बाहिरियो जर्वजस्ती करणी प्रयासको घटना। योसँगै नफादलाई जोगाउन घटनालाई मोडेर उल्टै लालकुमारलाई फसाउन लागेको रहस्य पनि खुल्यो। 

    पीडित किशोरीका बुवा वैदेशिक रोजगारका लागि साउदी अरेबियामा छन्। किशोरीलाई लिएर स्थानीयबासी प्रहरी कार्यालय यदुकोहा पुगे।

    त्यहाँका इन्सपेक्टर दिपकबाबु केसीलाई घटनाबारे जानकारी गराएपछि लालकुमारलाई अभिभावकको जिम्मा लगाए। तर साँझ पुनः प्रहरी कार्यालयले उनलाई झिकायो। अहिले उनी प्रहरी नियन्त्रणमै छन्।

    स्थानीय विनोद कुमार गोइत भन्छन्, ‘इन्सपेक्टर सा'बले सोधपुछ गरी किशोरीलाई घर पठाउनुभयो। तर उजुरी दर्ता गर्नुपर्छ पनि भन्‍नुभएन। हामीले अब जबरजस्ती करणी गर्नेलाई कारबाही हुन्छ सोचेर फर्कियौँ। तर उल्टै छाडिसकेका लालकुमारलाई पुनः नियन्त्रणमा लिएका छन्।’ 

    इन्सपेक्टर केसीले छलफलका लागि बोलाएको बताउँदै घटनामा संलग्न ती युवकलाई कारबाहीका लागि उजुरी दर्ता गराउने बताए। तर खुट्टा भाँचेको आरोपमा लालकुमारलाई कारबाही गर्न प्रमुख उदय बरबरिया र वडाध्यक्ष जैसी भण्डारीले प्रहरीलाई दबाब दिन थालेका छन्। 

    स्थानीय विनोदले भने, ‘इन्सपेक्टर सा'बसँग लालकुमारलाई किन पुनः पक्राउ गरेको प्रश्‍न गरेँ। अनि उहाँले धेरै दबाब रहेको जवाफ फर्काउनुभयो।’

    जबरजस्ती करणीको प्रयास गर्ने नदाफ नेकपाका कार्यकर्ता भएकोले त्यही पार्टीबाट निर्वाचित मेयर र वडाध्यक्षले प्रहरीलाई दबाब दिएको उनको भनाई छ।

    इलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर केसीले खुट्टा भाँचेको भनेपछि लालकुमारलाई नियन्त्रणमा लिइएको बताए। उनले किशोरीले जबरजस्ती करणी प्रयास भएको जानकारी गराएको भन्दै सत्यतथ्य बुझिरहेको बताए। उनले भने, ‘पीडित किशोरी अहिले यहीँ छ। कुरा बुझ्दैछौँ।’

    दुवै पक्षको मुद्दा दर्ता गरेपछि अन्तिममा मिलापत्र गर्न बाध्य हुने योजना जनप्रतिनिधिले बनाएको स्रोतको दावी छ। इन्सपेक्टर केसीले पनि नदाफको खुट्टा भाँचिएको देखिएको बताउँदै जबरजस्ती करणीको प्रयास पनि भएको स्वीकारे। 

    दुवै पक्षबाट आउने उजुरी दर्ता गरेर कारवाही थालिने उनले बताएका छन्। तर जबरजस्ती करणीको प्रयास गरेको व्यक्तिलाई बचाउमा लागेकोबारे सोधिएको प्रश्‍नको उनले उत्तर दिएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]