|

कञ्चनपुर : नेपाल भ्रमण वर्षलाई लक्षित गरी शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू संग्रहालय पर्यटकका लागि खुला गरिएको छ।  सोमवार संग्रहालयको प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले उद्घाटन गरेका हुन्।

संग्रहालय उद्घाटन गर्दै सांसद धामीले पुर्खाको इतिहास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको थारू संग्रहालयले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। संविधान सभाका सभासद कृपाराम रानाले ज्ञान र संस्कृति एउटै भएको चर्चा गर्दै जति बाँड्यो त्यति बढ्दै जाने बताए।

वडा कार्यालयको सहयोगमा संग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ। संग्रहालयमा थारू समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित बस्तुहरु राखिएका छन्। थारू समुदायले प्राचीनदेखि वर्तमानसम्म परम्परागत रुपमा प्रयोग गर्ने बस्तुहरु राख्न १२ वटा थारू गाँउका बडघरलाई जिम्मा दिइएको थियो।

संग्रहालय सञ्चालक समितिका सचिव भागीराम चौधरीका अनुसार संग्रहालयमा थारू समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन्।

यसैगरी हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायत सामान पनि छन्। लरिया, लहरु, बगरुवा, कुवाँ समेत संग्रहालय परिसरमा राखिएका छन्। थारू महिलाहरुले लगाउने नथिया, फुली, बुलाकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायतका गहना समेत राखिएका छन्। यस्तै, महिलाले लगाउने लेहंगा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छा, विवाहमा प्रयोग हुने डोली, डोला समेत संग्रहालयमा राखिएको छ। 

सञ्चालन सुरु भएको अवसरमा एक सातासम्म निःशुल्क प्रवेश दिइने र एक सातापछि वडा कार्यालयले शुल्क तोक्ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.