|
फाइल फाेटाे

काठमाडौं : सभामुखमा उम्मेदवारी दिने या नदिनेबारे निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको आज बिहान नौ बजे बस्दैछ। कांग्रेसले यसअघि नै सभामुख र उपसभामुख मध्ये एक पदमा मात्रै उम्मेदवारी दिने बताइसकेकोे छ।

सहमतीय राजनीतिक प्रणाली अनुसार नेकपाले कांग्रेसलाई उपसभामुख दिए सभामुखमा नेकपाकै उम्मेदवारलाई समर्थन गरिने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 'हामीले सहमतीय राजनीतिमा अघि बढौँ भनिरहेका छौँ,' खाँडले भने, 'संविधान अनुसार नै सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भन्‍ने भएकोले हामीले सत्तापक्ष र प्रतिपक्ष मिलौँ भनेका हौँ।' 

नेकपाले उपसभामुखमा कांग्रेसलाई समर्थन नगरे संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुख उम्मेदवार बनाउने तयारी कांग्रेसको छ। यद्यपी कांग्रेसले यसबारे आधिकारिक निर्णय गरेको छैन। कांग्रेसले यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि उम्मेदवार उठाएको थिएन।

संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले आगामी माघ १२ गते दिउँसो ३ बजे बस्‍नेगरी संसद बैठक आह्वान गरिसकेका छन्। संसद सचिवालयले सोमबार नै जारी गरेको निर्वाचन कार्यतालिकामा माघ १० गते दिउँसो २ बजे भित्र सभामुख पदको लागि उम्मेदवारी दिइसक्नुपर्ने उल्लेख छ।

यसपटक कांग्रेसले लोकतान्त्रिक पद्दति अनुसार उम्मेदवारी दिने बताइएको छ। नेकपाले यस अघि नै नेता अग्‍नी सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको छ। संसदमा नेकपाको स्पष्ट बहुमत भएकोले सापकोटा सभामुख पदमा निर्वाचित हुने पक्कापक्की छ। 

सत्तारुढ नेकपाले सभामुखका लागि सारेका सापकोटामाथि ज्यान मुद्धाको आरोप छ। उनको मुद्धा र रिटमाथि आगामी माघ १२ गते पेसी तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.