अर्थमन्त्री भन्छन् : अर्थतन्त्र थोरै ओरालो लाग्दैमा लड्दैन

|

काठमाडौं : चालु आर्थिक वर्षमा सरकार आर्थिक वृद्धिद र मूल्य वृद्धिदर दुवैमा असफल हुने देखिएको छ। आर्थिक वृद्धिदर साढे ८ प्रतिशतको रहने सरकारी लक्ष्य पूरा नहुने भएको हो। अर्कातिर मूल्य वृद्धिदर ६ प्रतिशतको नियन्त्रणमा राख्‍ने सरकारी लक्ष्य पनि असफल हुने भएको छ। यी लक्ष्य पूरा गर्न नसक्ने निचोड अर्थमन्त्रालयकै अधिकारीहरुले निकालेका हुन्। 

गत वर्ष अपेक्षाअनुसार आर्थिक वृद्धि हुन नसके पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको सरकारी तथ्यांकले देखाएको थियो। चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि पनि नियन्त्रण बाहिर गइसकेको छ।

तर यसबारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले यथार्थ स्थिति नबुझी टिप्पणी गरेको भन्दै गुनासो गरेका छन्। साढे ६ प्रतिशतको मूल्यवृद्धि धेरै भयो भन्‍नु अर्थतन्त्रमाथि बहस नै फरक ढंगले गर्न खोजिएको देखिने खतिवडाले बताए। 

'२२ प्रतिशत मूल्य वृद्धिदर हुँदा पनि आकाशियो भनिँदैन थियो, अहिले ६ प्रतिशत मूल्य वृद्धिदर हुँदा पनि आकाशियो ‌‌भनेर टिप्पणी गरिँदै छ, जबकी पछिल्लो २० वर्षको औषत मूल्य वृद्धिदर ८ प्रतिशत छ,' मंगलबार कृषि विकास बैंकको ५३ औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. खतिवडाले भने।

नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार मुलुकको मूल्य वृद्धिददर ६.५५ प्रतिशत रहेको छ।

यसमा खाद्य पदार्थको मूल्य वृद्धिदर ९.७५ प्रतिशत रहेको छ। निर्माण क्षेत्रमा आएको सुस्तताको कारण निर्माण सामाग्रीको मूल्य कम हुदाँ समग्रमा ६.५५ प्रतिशत देखिएपनि मूल्यवृद्धिदर नियन्त्रण बाहिर देखिएको छ।

उनले आर्थिक वृद्धिका सवालमा पनि अहिले आलोचना गर्नकै लागि मात्रै टिप्पणी बढी गरिएको संकेत गरे। अर्थतन्त्र सबै समथर नहुने विषय बुझ्न आग्रह गर्दै खतिवडाले अहिले लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने स्वीकार गरे।

‘अर्थतन्त्र ओरालो लाग्यो, कता जान लाग्यो भन्‍ने चर्चा गरिन्छ, धेरै साथीभाइले लेख्‍ने गर्नुहुन्छ, कलम त चालउनै पर्‍यो, दुई-चार पन्‍ना कोर्नै पर्‍यो। अर्थतन्त्र उकाली ओराली नै हो। सधैँ सरल र तेर्सो बाटोमा हिँड्दैन, कहिले उकालो लाग्छ, कहिले अलिकति झर्छ,’ खतिवडाले भने, ‘अलिकति उकालो चढ्दा स्वाँ-स्वाँ गर्ने र अलिकति ओराललो लाग्दैमा लडिन्छ कि भन्‍ने दुवै कुरा आवश्‍यक छैन।’ 

सरकारले राखेको लक्ष्यमा विश्‍वास नलाग्दा नेपालको अर्थतन्त्र 'मनिटरिङ' गर्ने अन्तर्राष्ट्रिय निकायको प्रतिवेदनहरू पढ्न पनि अर्थमन्त्री खतिवडाले आग्रह गरे।

‘सरकारको कुरा पत्याउन गाह्रो परेको हो भने अन्तर्राष्ट्रिय संस्थाहरू नेपाल अर्थतन्लाई मनिटरिङ गर्छन्, नजिकबाट नियाल्छन् र स्वतन्त्र रुपले आफ्ना प्रतिवेदन प्रकाशन गर्छन्, ती पनि पढ्दिनुस्। भर्खरै मात्रै आइएमएफले पनि प्रतिवेदन दिएको छ, त्यो पनि हेरिदिनुहोला,’ खतिवडाले भने।

अन्तर्राष्ट्रिय निकायहरूले नेपालको अर्थतन्त्र सुदृढीकरणको बाटोमा गएको बताइसकेको जिकिर उनको थियो। आइएमएफको पछिल्लो रिपोर्टले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतमा सीमित रहने उल्लेख गरेको छ। विश्‍व बैंकको नेपाल अपडेटले ६.४ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हुने जनाएको छ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र नेपालको भूभाग जस्तो उकाली ओराली हुने भन्दै केही औरालो लाग्दैमा लडिन्छ कि भनेर डराउन नहुने बताए।

उनले पछिल्लो २० वर्षमा औसत चार प्रतिशतको मात्रै आर्थिक वृद्धिदर भएकोमा अहिले ६ प्रतिशतदेखि ८ प्रतिशतको बीचमा बहस भएको बताए। ‘हिजो हामी दुई प्रतिशत, तीन प्रतिशतमा अलमलियौँ, २० वर्षको औषत वृद्धिदर ४ प्रतिशत छ’, खतिवडाले भने, ‘हाम्रो लेबल नै बढेको छ, हिजो भन्दा धेरै राम्रो भएको छ, अझै राम्रो गर्ने ठाउ रहेको छ।’

खतिवडाले परस्पर विरोधी उपलब्धी हासिल होस भन्‍ने अपेक्षा राख्‍ने गरेको बताए। विदेश जानेको शक्ति घटाउन र रेमिट्यान्स बढाउन भनेर एकैपटकमा नसकिने बताउँदै उनले राजस्व बढाउ र आयात घटाउ भनेर एकै पटक  नसकिने पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.