|

काठमाडौं  : वीरेन्द्र अस्पताल छाउनीमा हेमोडायलासिस सेवा सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार छाउनी अस्पताल पुगेर हेमोडाइलासिस मेसिन खोलेर सेवाको शुभारम्भ गरेका हुन्।

महानगरपालिका र  नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको एक महिनापछि मंगलबार सेवाको सुरुवात भएको हो।

महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको छ। महानगरले केही महिनाअघि मात्रै अक्सिजन प्लान्ट जडानका लागि कान्तिबाल अस्पताललाई दुई करोड दिने सम्झौता गरेको थियो। 

त्यसैगरी नेपाली सेनासँग पनि महानगरपालिकाले गत पुस २ गते हेमोडाइलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र  जनशक्ति थप गर्नका लागि तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो। 

महानगरपालिकाकै सहयोगमा एम्बुलेन्स सेवासँग सहकार्य गरी एम्बुलेन्स सेवा सञ्‍चालन गरेको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने प्रमुख शाक्यले बताए।

महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रष्ट पारे।

‘बिरामी भएपछि उपचार गर्नका लागि मात्रै होइन बिरामी हुनुभन्दा अघि नै गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ शाक्यले भने ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरूले बनाउनुहोला अरू सहयोग चाहियो भने पनि गर्न तयार छु।’  

डल्लु निवासी ६२ वर्षीया चन्द्रादेवी महर्जनको हेमोडाइलोसिसबाट सेवा सुरु गरिएको हो। पहिलो सेवा लिएकी चन्द्रादेवी महर्जनले खुशी व्यक्त गरिन्।

‘बिरामीको उपचारका लागि महानगरपालिकाले गरेको यो सहयोगले आभारी छु,सेवा विस्तारका लागि महानगरपालिकाले अझै थप सहयोग गरोस्। हामीजस्ता बिरामीलाई धेरै राहत हुने छ । यो महानगरले गरेको उदाहरणीय काम हो,'उनले भनिन्।

हेमोडायलासिस सेवा मिर्गौलाले काम गर्न छाडेपछिका बिरामीलाई दिइने उपचार सेवा हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.