|

दैलेख : जिल्लाको नौमूले गाउँपालिका ५ मा निर्माण भएको ४.५ मेगावाट उत्पादन क्षमताको पदमखोला हाइड्रोपावर आयोजनाबाट उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। 

४.५ मेगावाट उत्पादन क्षमताको हाइड्रोपावर आयोजनाबाट हिउँदको समयमा खोलामा पानीको वहाब कम हुने भएकाले अहिले उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारणमा जोडिएको कम्पनीका फिल्ड व्यवस्थापक अनिलकुमार खनालले बताए। डोल्टीपावर जलविद्युत आयोजनाअन्तर्गत सञ्चालित पदमखोला जलविद्युत आयोजना कर्णाली प्रदेशमा अहिले सम्मकै ठूलो आयोजना मानिन्छ।

झण्डै ८० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको पदमखोला आयोजनाको विद्युत गृहमा दुई वटा विद्युत उत्पादन गर्ने टर्वाइन राखिएका छन्। अहिले पनि पानीको वहाब कम हुने भएकाले एउटा टर्वाइनबाट १६ किलोवाट विद्युत उत्पादन भइरहेको साइड मेनेजर खनालले बताए।

यसअघि नै नौमुले गाउँपालिकामा द्धारीखोला जलविद्युतआयोजनाबाट उत्पादन भएको ३.७५ मेगावाट विद्युत केही वर्षअघि केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ। यस्तै नौमूले गाउँपालिका ३ को द्धारीमा माथिल्लो लोहोरे खोला जलविद्युत आयोजनाले पनि हाइड्रोपावर निर्माणको काम अगाडि बढाएको छ।

दैलेखको नौमूले गाउँपालिका विद्युत उत्पादनका हिसावले कर्णाली प्रदेशमा सबै भन्दा बढी विद्युत उत्पादन हुने क्षेत्र हो। हाल नौमूले गाउँपालिकाबाट द्धारीखोला र पदमखेला जलविद्युत आयोजनाबाट ७.८० मेगावाट विद्युत उत्पादन भई केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ।

यता नौमुले गाउँपालिका 'हाइड्रो हब' का रुपमा विकसित हुँदै गए पनि यहाँका जनता बत्तीमुनिको अँध्यारोमुनि बस्न बाध्य छन्। यस अघि निर्माण सम्पन्न भएको द्धारीखोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाले स्थानीयले आफ्नै ठाउँमा उत्पादन भएको विद्युत उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन्। 

नौमुले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले विद्युत उत्पादन कम्पनीसँग यहाँका जनतालाई विद्युत उपभोग गर्ने वातावरण मिलाउन भन्दा संघीय सरकारको मातहतमा रहेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाले संघीय सरकारसँग विद्युत उपभोग गर्न पाउनुपर्नेमा दवाव दिनुपर्ने बताए। 

अध्यक्ष मगरले संघीय सरकासँग विद्युत उपभोग गर्ने विषयमा कानुन बनिनसकेकाले कानुन बन्नेपछि यहाँका जनताले आफ्नै आँगनमा उत्पादन भएको विद्युत उपभोग गर्न पाउने जानकारी गराएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.