|

दाङ : तुलसीपुरका मुख्य सडकछिया-छिया परेका छन्। तुलसीपुर-अमिलीया सडक खण्डअन्तर्गत तुलसीपुरको विपीचोकदेखि करिब एक किलोमिटर सडक खाल्डै-खाल्डाले गर्दा सडक जस्तो पनि देखिँदैन। जसका कारण सवारीसाधन आवागमन र पैदल यात्रुलाईसमेत समस्या भएको छ।

स्थानीय अमरराज लामिछानेले पूरै सडकमा खाल्डै-खाल्डा भएर गाडी चलाउन समस्या परेको बताए। उनले भने,'यो सडक बेला बेलामा यस्तै हुन्छ। वर्षैपिच्छे यहाँको सडक टालेर बजेट सक्ने काम हुँदै आएको छ, सडक मजबुत बनाउनका लागि दीर्घकालीन रुपमा सोच्‍नुपर्ने हुन्छ।' तुलसीपुरको मुटु मानिने वीरेन्द्रचोकदेखि गुम्राहचोकसम्मको सडक यस्तो अवस्था हुँदा सम्बन्धित निकाय मौन बस्‍नु लज्जास्पद भएको गुनासो गर्दै लामिछानेले बर्षा भएका बेला खाडलमा पानी जम्‍दा दुर्घटनाको जोखिम बढेको बताए।

सडकमा पानी परेको बेला खाल्डामा पानी जमेर पैदल यात्रु हिँड्नका लागि सडक बाटो नहुँदा गाडीले त्यही पानी उछिट्याउने गरेको तुलसीपुर १७ का भरत चौधरीले बताए। त्यसमाथि फुटपाथमा पार्किङ गर्दा पैदल यात्रुलाई हिँड्नै सकस भएको तथा खाडलका कारण दुर्घटनाको जोखिम बढेको चाैधरी बताउँछन्‌। तुलसीपुरमा अटोरिक्सा चलाउँदै आएका लिलप्रसाद शर्माले बजारको सम्बन्धित निकायले चासो नदिएका कारण मुख्य सडकमै दुरावस्था देखिएको बताए।

सडकमा पूरै खाल्डै-खाल्डा भएपछि सवारी चलाउँदा सवारीलाई जोगाउन नै समस्या भइरहेको सवारीचालकहरुको अनुभव छ। सडक लथालिङ्‍ग भएकैले पैदल यात्रुहरु दुर्घटनामा पर्ने गरेका छन्‌। उक्त सडकमा अहिले १० मिटर पनि गतिलो सडक देख्‍न सकिन्‍न। 'सडकको खाल्डा मर्मत सडक विभागकै जिम्माको हो,तुलसीपुर उपमहानगरपालिकाको दायित्वभित्र त्यो पर्दैन,' एक स्थानीयले बताए।

नेपाल भम्रण वर्ष २०२० तथा ‘घुम्न जाँऊ तुलसीपुर' अभियानलाई यसले गिज्याएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई तुलसीपुरको सडकले गिज्याइरहेको देखिन्छ।

तुलसीपुरको मुटुमा रहेको ‘क’ लाइनको कालोपत्रे सडकमा पनि ठूला-ठूला खाल्डाहरू परेका छन्। सो सडकमा कहिले माटो त कहिले गिट्टी हाल्ने र पटक-पटक कालोपत्रेको नाममा अलकत्रा छर्कने काम भने नभएको होइन। परेको बेला पानी सडक हिल्लामे हुने र घामलाग्दा धुलाम्य बन्छ।

स्थानीय सरकारको अधिकारमा नपर्ने तथा यो सडक राजमार्गअन्तर्गत पर्ने भएका कारण समस्या भएको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए। उनले भने,'सडक मर्मतको काम उपमहानगरको दायित्वभित्र पर्दैन,सडक डिभिजन कार्यालयको हो।' तर नागरिकले स्थानीय सरकारलाई प्रश्‍न गर्ने गरेका उनले बताए। यसका लागि उपमहानगरले सम्बन्धित निकायमा पहल गरी तत्काल सडक मर्मत गर्न आग्रह गर्ने उनले बताए।

सडक डिभिजन कार्यालयले भने सडक मर्मतका लागि 'टेण्डर' भइसकेका कारण केही दिनमै सडक मर्मत सुरु हुने जानकारी गराएको छ। अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत सल्यानको सिमानासम्म सडक मर्मतका लागि 'टेण्डर' भएको भन्दै अवको माघको अन्तिम साताबाट काम शुरु हुने बताइएको छ।

तीनवटा कम्पनीलाई कामको जिम्मा दिएको र अब केहीदिनमै काम सुरु हुने सब-इन्जिनियर नारायण दाहालले जानकारी दिए। उनले भने,'सडक मर्मत-सम्भारका लागि टेण्डर समेत भएको छ, मौसमकाकारण काम सुरु हुन सकेको छैन',उनले बताए। मौसम सुधारसँगै अब माघभित्रमा काम सुरु हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.