नेकपासँगै कांग्रेस पनि एमसिसी पास गर्ने पक्षमा

|

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भए पनि संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

रिपोर्टस क्लबमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताएका हुन्। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पनि पारित हुनुपर्छ भन्‍ने रहेको दाबी गरे। 

त्यहीकारण संसदमा ह्विप लागू गरेर पनि एमसिसी पारित हुने उनले दाबी गरेका हुन्। ‘एमसिसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ', उनले भने, 'प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ। त्यसैले संसदीय प्रणालीमा ह्विप लागू हुन्छ। प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ। तर, केही बुँदाहरू हेरफेर हुनुपर्छ।’

एमसिसी नेपालमा लागू भएपछि गरिबी निवारण हुन्छ भन्‍ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्‍न नदिने पक्षमा आफू रहेको उनको भनाइ छ। अनुदान निःशर्त हुने भएका परियोजनामा भएका शर्तहरू खारेज हुनुपर्ने माग उनको छ।

एमसिसी पास गरौँ : भीमसेनदास

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसिसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमीकमजोरीबारे छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिएका छन्।

‘सबैले यसलाई स्वीकार्नुपर्छ। अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ। यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमीकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ,' उलने भने, 'एमसीसीका बारेमा बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्नुहोला। हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालीन नेकपा एमालेले विरोध गर्‍यो। त्यो त्यतिकै कोलाप्स भयो। त्यो लागू भएको भए धेरै राम्रो हुन्थ्यो।’

छलकपटको राजनीति नगर्नू : चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरूलाई छलकपटको राजनीतिक नगर्न सुझाव दिए। हिजो महाकाली सन्धि गर्ने समयमा ठूला कुरा गरिएको भए पनि कति नाफा लिन सकियो भन्‍ने प्रश्‍न गर्दै उनले एमसिसीमा रहेका प्रावधानहरू हेर्नुपर्ने बताए।

‘हामीले शर्तहरू हेर्नुपर्छ। हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो। तर, अहिले कति नाफा लिन सक्यौँ त ? हामीले कोशी र महाकाली दिएकै हो', उनले भने, 'अहिले पनि अपर कर्णाली भारतीय जिएमआर कम्पनीसँग छ। हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरुले खरिद गर्छन।'

विदेश सहयोग लिँदा सोचौँ : पशुपति शमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले विदेशी सहयोग लिँदा राष्ट्रहितका विषयमा सोच्नुपर्ने बताए। अहिले भारत र चीनबाट समेत नेपालले सहयोग लिँदै आएको बताउँदै उनले नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थ हेर्नुपर्ने बताए।

‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ। अहिले चीनबाट सहयोग आएको छ। अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ। हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ। तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ’, उनले भने।

एमसिसीका विषयमा पक्ष विपक्षमा विचारहरू व्यक्त भइरहेका छन्। एमसिसी इण्डो प्यासिफिकको अंग भएको केही नेताहरूले दावी गरिरहेका बेला नेपालस्थित अमेरिकी दुतावासले एमसीसी र इण्डो प्यासिफिकको कुनै सम्बन्ध नभएको बताएको छ। सरकारले संसदको चालु अधिवेशनबाटै यो परियोजना पारित गर्ने बताउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.