रुकुम : रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका ९ र चौरजहारी नगरपालिका १४ मा पर्ने नुवाकोट डाँडामा खानेपानी पुगेको छ। कालाखोला घोर्लेगोठ नुवाकोटडाँडा सोलार लिप्टिङ खानेपानी तथा सरसफाई समितिमार्फत उक्त खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हो।
मंगलबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले खानेपानीको उद्घाटन गरे। खानेपानी योजनामार्फत नाउली, नालेचौरसहित खड्काटोल, डाँडागाउँ, नुवाकोटडाँडालगायत टोल खानेपानीको पहुँच पुगेको छ।
त्रिवेणी गाउँपालिका ९ का ७४ र चौरजहारी नगरपालिकाका ४० घर परिवारमा खानेपानीको धारा जडान गरिएको छ। त्रिवेणी गाउँपालिका ९ को हिमालय मावि र नुवाकोटडाँडास्थित प्रहरीचौकी पनि खानेपानी आयोजना बनेपछि लाभान्वित भएका छन्।
खानेपानी योजनाका लागि उपभोक्ता, स्थानीय सरकार र सरोकारवालाको लगानी रहेको छ। गाउँभन्दामाथि पानीका मुहान नभएपछि गाउँमुनिको कालाखोलाबाट पानी डाँडामा पुर्याइएको छ। सोलार प्रविधिको प्रयोग गरी लिप्टमार्फत कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा खानेपानी आयोजना निर्माण गरिएको हो।
निर्माण समितिका सचिव सन्तोष ओलीले एक करोड ३१ लाख रुपैयाँको लगानीमा आयोजना सम्पन्न भएको जानकारी दिए। समितिका अनुसार नेपाल रेडक्रस सोसाइटीको ६४ लाख ४८ हजार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १७ लाख ३२ हजार, त्रिवेणी गाउँपालिकाको ७ लाख र चौरजहारी नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ लगानीमा आयोजना बनेको हो।
आयोजनामा स्थानीयले ३३ लाख ३० हजार बराबरको जनश्रमदान र उपभोक्ताबाट एक लाख ४९ हजार रुपैयाँ संकलन गरिएको थियो। आयोजनामा १९ किलोवाटको सोलार प्रयोग गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।