|

भक्तपुर : चाँगुनारायण नगरपालिकाले आफ्नो मातहतका ९ वटै वडामा खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्ने भएको छ। विपद्सम्बन्धी ऐन बनाउने अग्रणी पालिकाको पहिचान बनाएको चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि प्रत्येक वडामा चालु आर्थिक वर्षभित्रै ती सामग्री व्यवस्था गर्न लागेको हो।

विपद् जानकारी दिएर नआउने र हरेक समय विपद्को जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनु पर्ने भएकोले नगरपालिकाले प्रत्येक वडामा खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्न लागेको नगर उपप्रमुख विणा बास्तोलाले बताइन्। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपप्रमुख बास्तोलाले प्रत्येक वडामा गठन भएका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन निर्देशन समेत दिएको बताइ्न। 

उपप्रमुख बास्तोलाले भनिन्, ‘वडामा नियमित मासिक बैठक बस्ने, विपद्सम्बन्धी वडास्तरीय फोकल पर्सन तोक्ने, मासिक योजना बनाउने, वडामा ५ जना खोज तथा उद्धारकर्ता स्वयम्सेवक तोक्नेलगायतका निर्णय गरी १० दिनभित्र नगरपालिकाको विपद् व्यवस्थापन समितिमा बुझाउन वडाध्यक्षलाई निर्देशन गरेका छौं।’

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले नीति मात्र नबनाएर त्यसको कार्यान्वयनको स्थितिको समेत मूल्यांकन गर्न जरुरी रहेको बताए। उनले पछिल्लो समयमा भूकम्पलगायतका अन्य विपद्बारे सचेतना बढे पनि विपद् व्यवस्थापनका लागि सबै पक्षबीच अन्तरसम्बन्ध बढाउनु पर्नेमा नगरपालिकाको भूमिकामा कमी देखिएको बताए। उनले विपद्को समयमा स्वास्थ्य, सञ्चार, सुरक्षा र खानेपानीको क्षेत्र तथा स्थानीय समितिबीच समन्वय गर्न सके विपद् न्यूनीकरण गर्न सकिनेमा जोड दिए।

गेलालले विपद्पछिको अवस्थालाई न्यूनीकरण गर्न विपद्पूर्व नै तयारी गर्नुपर्ने खाँचो औंल्याउँदै विपद्को बेला तत्काल राहत वितरणका लागि प्रत्येक वडामा राहत सामग्री भण्डारण कक्षको बन्दोबस्त गर्न सुझाव दिए। कार्यक्रममा वडाका प्रतिनिधिले विपद् व्यवस्थापनसम्बन्धी ऐन, नियम र नीति बने पनि कार्यान्वयन पक्ष कमजोर भएको गुनासो गरेका थिए।

वडा नं. ७ का स्थानीय दामोदर अधिकारीले कुरालेभन्दा पनि विपद्सम्बन्धी काम व्यवहारमा देखिनु पर्ने बताए। उनले भने, ‘वडास्तरीय समितिलाई क्रियाशील बनाउनुपर्ने, तालिम दिनुपर्ने, सक्षम बनाउनुपर्ने नीति बन्यो भन्ने सुन्यौं। तर व्यवहारमा देख्न पाएका छैनौं।'

वडा नं. ९ का वडा सदस्य कमला गिरीले विपद् व्यवस्थापनका लागि कोष जरुरी रहेको बताइन्। उनले भनिन्, ‘कार्यान्वयन नभए कार्यक्रम राख्नुको अर्थ छैन। नीति कार्यान्वयन हुन सकेको छैन। नीति अनुसार कार्यान्वयन गर्न प्रत्येक वडामा पूर्व तयारी सामग्री भण्डारण कक्ष जरुरी छ।’

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले विपद् व्यवस्थापनका बजेट, स्रोत, साधनको सीमितता भए पनि वडावडामा संरचना बनाएको, विपद्सम्बन्धी नीति तथा कोष बनाएको, कार्यक्रम र कार्यतालिका समेत बनाइएको जानकारी दिँदै विपद्सँग जुध्नका लागि नगरपालिकाले जनशक्ति पनि तयार गर्ने नीति रहेको बताए।

नगरपालिकाका सूचना प्रविधि अधिकृत सिमान्त न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा सिडीएमएसकी कृष्णा कार्कीले वडाहरूबाट सहभागीलाई विपद्सम्बन्धी नीति, ऐन, नियमबारेमा जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.