समाज

मृत्युदण्डको सजायबाट छुट्कारा पाएका उमेश स्वदेश फर्किए

माघ ८, २०७६

    धनुषा : हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्।

    मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले उमेशलाई सकुशल नेपाल फर्काउन विगत तीन बर्षदेखि लगातार अभियान चलाएका थिए। 

    सन् २००६ मा पाकिस्तानी नागरिक मो. लतिफ बसिरको हत्या गरेको आरोप उमेशमाथि लागेको थियो। उमेशले आपसी विवादपछि भएको झडपमा बसिरको मृत्यु भएको स्वीकारेका थिए। 

    तर अदालतले भने आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा बसिरलाई उमेशले रड हानेर हत्या गरेको जिकिर गरे। सन् २०१७ मार्च १५ मा उमेशलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनायो।

    जनरल कोर्टको उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावेदन अदालतमा रिट दायर गरे। पुनरावेदन अदालतले भने १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यू दण्डको फैसला नै सुनाइदियो। 

    साउदी अरेबियामा ‘हरापा’ सबभन्दा कडा कानूनमध्येको एक हो। उमेशले जघन्य अपराध गरेको भन्दै हरापा कानून बमोजिम सजाय सुनाइएको थियो। हरापाबाट सजाय सुनाइएपछि ब्लडमनीले पनि बच्‍न मुस्किल हुन्छ।

    अभियन्ता रायका अनुसार उमेश माफी पाएर नेपाल फर्किनुमा मृत्यु भएका पाकिस्तानी नागरिक बसिरको परिवार पनि सहयोग रहेको छ। बसिरका परिवारले पाकिस्तानी रकम ३० लाख ‘ब्लडमनी’ लिएर उमेशलाई माफी दिएका थिए। उक्त ३० लाख रुपैयाँ अभियन्ता रायले ‘उमेश बचाउ अभियान’को नाममा देशविदेशबाट संकलन गरेका थिए। अभियन्ता रायले दुई पटक पाकिस्तान पुगेर मृतक बसिरका परिवारसँग उमेशलाई दिइएको सजाय माफीका लागि आग्रह गरेका थिए।

    ‘नेपाल फर्केपछि उमेशले नेपाल फर्किन्छु भनेर सोचेको पनि थिएन’ अभियन्ता रायले भने, ‘कडा मेहनतपछि उहाँ फर्किनुभएको छ। अभियान सफल भएकोमा खुःशी छौं।’ मानिसले चाह्यो भने असम्भव केहि छैन भन्ने सन्देश यो अभियानले दिएको उनको भनाई छ।

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]