|

सल्यान : २०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका १ बुराँसे भिडन्तमा बमको छर्रा टाउकोमा लागेपछि सिद्ध कुमाख गाउँपालिका ४ खार्वनका पहल चलाउने घाइते भए। सशस्त्र द्वन्द्वको भिडन्तका बेला टाउकोमा लागेका ५ वटा छर्रा बोकेर उनी अहिले पनि छट्पटाइरहेका छन्‌।

शल्यक्रिया (अप्रेशन) का लागि धेरै प्रयास गर्दा पनि आर्थिक अभावका कारण उनी सफल हुन सकिरहेका छैनन्। टाउकोमा लागेको छर्राकै कारण उनको बायाँ हात र खुट्टाले काम गर्न छोडेको छ। छर्रा निकाल्न नसक्दा शारीरिक अवस्था दिनदिनै कमजोर बन्‍नुका साथै आर्थिक अवस्था दयनीय बन्दै गएको बताए। 

रुकुमको खारामा २०६१ चैत्र २४ गते भएको भिडन्तमा काप्रैचौरस्थित जुमखोलाका कृष्ण केसीको शरीरभर ५४ वटा छर्रा लागे। घरजग्गा र सम्पत्ति बेचेर उपचार गर्दा पनि उनले शरीरका २२ छर्रा मात्र निकाल्न सके। उनको टाउकोमा २ र शरीरका अन्य अंगमा अझै ३२ छर्रा बाँकी नै छन्। 

चितवनका कृष्णभीरमा माइन विस्फोट गराउँदा बागचौर नगरपालिका ४ शिवरथका दिपक विकलाई खुट्टामा छर्रा लागे। केही छर्रा उपचार गरी निकाले पनि अझै २ वटा बाँकी नै छन्। यी त प्रतिनिधि पात्र मात्र हुन। जिल्लामा द्वन्द्व कालमा घाइते भई अशक्त जीवनयापन गर्ने दर्जनौं छन्।

आर्थिक समस्याका कारण उपचार गर्न नसक्दा अशक्त जीवन विताउन बाध्य हुनु परेको द्वन्द्वका घाइतेको गुनासो छ। साविकको स्थानीय शान्ति समितिको तथ्यांक अनुसार जिल्लाभर २ हजार ३१० जना घाइते भएका थिए।

द्वन्द्वकालमा केही घाइतेहरूले राहत पाए पनि उपलब्ध भएको राहतले उपचार सम्भव नभएको उनीहरूको भनाई छ। घाइते दिपक विकले भने राज्यले जीवन निर्वाहका लागि मात्र केही राहत दियो तर शरीरमा भएका बमका छर्रा केले निकाल्ने? 

देश परिर्वतनका लागि आफ्नो शरीर अंगभंग हुँदा पनि राज्यले घाइतेहरूको व्यवस्थापन गर्न नसकेको घाइतेको भनाई छ। आफ्नै पार्टी सरकारमा हुँदा समेत निरीह भएर जीवनयापन गर्न बाध्य भइरहेको उनीहरूको भनाई छ। जिल्लामा द्वन्द्वका समयमा माओवादी र राज्य पक्षबाट पीडित बनेका २ हजार ५९ जनाले अझै राहत पाउन सकेका छैनन्।

घाइते तथा अंगभंग भएका २ हजार ३१० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिले राहत र जीवन निर्वाह भत्ता दिएको थियो। स्थानीय शान्ति समिति खारेज भएपछि द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालय सल्यानले हेर्दै आइरहेको छ। 

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपनाले द्वन्द्वकालमा घाइते तथा अंगभंग भएका मध्ये ३३ जनाले जीवन निर्वाह भत्ता पाउँदै आएको बताए। यस वर्ष छुटेकाको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.