यी पाँच उद्योगले गरे पूरै भुक्तानी

|

काठमाडौं : उखु किसानको बक्यौता नतिरेर फरार दुई चिनी उद्योगको खाता सरकारले रोकेको जनाएको छ। किसानको वक्यौता नतिर्ने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्‍नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको हो। 

यस्तै दुवै उद्योगमाथि राजस्वसम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत पत्राचार गरिएको छ। सरकारले १८ पुसमा उखु किसानसँग सम्झौता गरेर ७ माघभित्र सबै बक्यौता उपलब्ध गराउने जनाएको थियो। यो अवधिमा सरकारको तर्फबाट पाउनुपर्ने अनुदानसमेत किसाहरूले पाएका छैनन्। 

मन्त्रालयका अनुसार ५ वटा उद्योगले कृषकको सबै भुक्तानी गरिसकेका छन्। जसमा हिमालयन सुगर मिल्स प्रालि, इन्दुशंकर चिनी उद्योग प्रालि, इष्टर्न सुगर मिल्स, रिलायान्स सुगर एण्ड केई प्रालि र भागेश्वर सुगर मिल प्रालि छन्।

मन्त्रालयको निर्देशनपछि किसानको वक्यौता सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले तिरेको छ। यो मिलले माघ ५ गतेसम्म कृषकको ११ करोड ५० लाख भुक्तानी गरेको छ। यो उद्योगले २१ करोड ४० लाख तिर्न बाँकी छ। यस्तै अन्‍नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्रै भुक्तानी गरेको छ।

यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका कृषकबाहेक सबैको भुक्तानी दिएको मन्त्रालयले जनाएको छ। यस्तै बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाडसारी मिल्स प्रालिका सञ्‍चालक फरार छन्। यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैयाँ बक्यौता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.