मन्दिर वरपर फूल पसल हुनु्पर्छ : नरोत्तम वैद्य

|

काठमाडौंः पशुपति क्षेत्र विकास कोषले फूल पसल व्यवस्थापन गर्न दुई पटक सूचना निकालिसकेको छ। यो सूचनापछि त्यहाँका फूल व्यापारीहरुको पक्षमा दैनिकजसो कोषको कार्यालयमा स्थानीय नेता डेलिगेसन गइरहेका छन्। दोस्रो पटकको सूचना अनुसार व्यावसायीले पसल नहटाएमा कोषले आफैँ हटाउने सुचना जारी गरिसकेको छ।

कोषले मन्दिरको मुख्य गेटमा वर्षौँदेखि फूल पसल सञ्चालन गर्दै आएकालाई हटाएमा रोजीरोटी खोसिने अवस्था छ। फूल व्यापारीहरुले आवश्यक तयारी नगरेको र विकल्प पनि नदिएको भन्दै आक्रोश पोखिरहेका छन्। 

कोषले तयारी नगरी फूल व्यापारीलाई हटाउन लागेकोमा व्यापारी हरि बहादुर बस्नेतले गुनासो गरे। उनले पशुपति क्षेत्रमा १० वर्षदेखि पसल सञ्चालन गर्दै आइरहेका छन्। 'सबै व्यापारीलाई गर्नुपर्छ', उनले भने, 'कसैलाई काँखा र पाखा गर्न हुँदैन।'t

त्यहाँ २ सयवटा पसल छन्। व्यवस्थापन गर्न लागेको ठाउँमा ६५ वटा कोठा छन्। तिनमा सबै व्यापारी अट्ने अवस्था छैन। भाग्य हुनेले मात्र पसल गर्न ठाउँ पाउने उनी बताउँछन्।

'अधिकांश व्यापारीको यहीँबाट घरखर्च चलिरहेको छ,'उनले भने,' यहाँबाट हटाएपछि कहाँ गएर के गर्ने भन्ने समस्या छ। कोषले फूल व्यापारीलाई यही क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ।' नयाँ कोठा थपेर सबै व्यापारीलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। नयाँ स्टलमा पसल गर्न नपाए पनि यहीँ भित्र पसल राख्न पाउनुपर्ने उनको धारणा छ।

यहाँका व्यापारीले दैनिक ५ हजारसम्म आम्दानी गर्छन। चाडपर्वको समयमा १५ देखि २० हजार कमाइ हुन्छ। साउनमा ४०-५० हजारसम्म कमाइ हुने गरेको छ।

रामकृष्ण खड्गीले यस क्षेत्रमा पसल गरेको ५० वर्ष भयो। उनी पनि अन्यत्र सार्न नहुने बताउँछन्। उनले भने,'कोषले भएको घर भत्काएर जग्गा लिएको हो। मुआब्जास्वरुप ३ लाख २६ हजार दिएको थियो। टहारा बनाउन अनुमति दिएर पसल सञ्चालन गरिरहेको छु।' अहिले पसल हटाएर रोजी रोटी खोस्न लागेको उनले गुनासो गरे।

२०५८ सालमा उनको घर विकास कोषले भत्काएको थियो। घर भत्काएछि बहालमा बसिरहेका छन उनी। त्यस बखत प्राप्त गरेको पैसाले केही नगरी बचत गरेको उनले सुनाए। 'कोषले व्यवस्थापन गर्छ भने पनि यही पशुपति क्षेत्र भित्र गरोस',  उनले कामना गरे।

मन्दिर वरिपरीका फूल पसल हटाउन नहुने पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले बताए। हिन्दु धर्मावलम्बीको मन्दिर वरिपरि फूल पसल हुने गरेको उनले सुनाए। पशुपति क्षेत्रका फूल पसलले त्यसको सौन्दर्य नबिगारेको उनी बताउँछन्। दर्शनार्थीलाई जर्बजस्ती गरेको पाइए व्यापारीलाई अनुशासनमा राख्न कोषलाई उनले आग्रह गरे।

सोभिनियर पसललाई नयाँ ठाउँमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। 'फूल पसललाई त्यही क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ,' उनले भने,' अझ १५ दिन फूल व्यापारीलाई व्यवस्थापन गर्न समय थप्नुपर्छ।'

१० गतेदेखि पसलका सामान व्यवस्थापन गर्न अनुरोध गरिसकेको पशुपति विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी दिए। उनका अनुसार जर्बजस्ती गर्न खोजेमा बल प्रयोग गरेर हटाइन्छ। व्यवस्थापन गर्नलाई अहिले हतार नगर्नलाई स्थानीय नेताहरुले अनुरोध गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.