समाज

गोकर्णेश्वरले देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने

माघ ८, २०७६

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रूपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

    'भैरव अर्याल, रमेश विकल जस्ता महान् स्रष्टाहरूको जन्मभूमि तथा कर्मभूमिको रूपमा परिचित गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु प्रतियोगिताको लक्ष्य रहेको छ' उनले भने।

    महोत्सवलाई सफल बनाउन प्रमुख चालिसेको संरक्षकत्व एवं साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए।

    मुलुकको संविधान र कानुनविरुद्ध नहुने शीर्षकमा बढीमा २ सय शब्द सहितको कविता, प्रतियोगिताका लागि योग्य मानिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ।

    प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरु छुट्टयाएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविता मध्येबाट प्रदेश स्तरको उत्कृष्ट तीन कविताहरू छुट्याइने महोत्सव आयोजकका संयोजक गोविन्द घिमिरेले जानकारी दिए।

    प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्नका लागि स्थापित मूल्यांकन पद्धतिको आधारमा विज्ञ समूहबाट मूल्यांकन गराइने र उक्त मूल्यांकनबाट उच्चतम श्रेणीमा आएका कविताहरुमध्ये बढीमा ४० जना सम्मलाई वाचनको लागि सिफारिस गरिने भएको छ।

    पुरस्कार पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुईसमेत गरी पाँच जनालाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रति प्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला ओडाइनेछ।

    साहित्यकारहरू गोविन्द घिमिरे वेदमणि, डाक्टर विदुर चालिसेलगायतले प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए। नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्यलाई प्रतियोगिताको सदस्य सचिव तोकिएको छ। प्रतियोगिता गोकर्णेश्वर नगरपालिका-८ आरुबारी चोकमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]