युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाए

|

बर्दिया : मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा गाइने डेउडा बर्दियामा पनि खेल्ने गरिएको छ। मंगलबार बर्दियाको ठाकुरबाबा नगरपालिका-१ सिंहबाहिनी खेल मैदानमा डेउडा खेल भव्य रुपमा आयोजना गरियो।

डेउडा कार्यक्रममा मध्यतथा सुदूरपश्चिम क्षेत्रबाट बर्दिया झरेका स्थानीयको बाक्लो उपस्थिति थियो। ठाकुरबाबा नगरपालिका-१ को आर्थिक सहयोग तथा डेउडा कार्यक्रम सञ्चालन समिति ठाकुरबाबा नगरपालिका-१ को आयोजनामा बृहत डेउडा कार्यक्रम सञ्चालन गरेको हो।

संस्कृति हरायो भने विकृती फैलिन्छ भन्ने सोचका साथ पुरानो संस्कार र संस्कृतिको संरक्षणका लागि समय समयमा बर्दियाका विभिन्न स्थानमा डेउडा सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आइएको छ।

डेउडाकै लागि समिति गठन

डेउडा संस्कृति जगेर्नाकै लागि ठाकुरबाबा नगरपालिका-१ मा कालिकादेवी विष्टको अध्यक्षतामा समिति गठन गरिएको छ। उक्त समितिले समय समयमा डेउडा कार्यक्रम सञ्चालनका लागि व्यवस्था गर्दै आएको छ।

'हामीले चाड पर्व तथा शुभ कार्यका अवसरमा महिला जम्मा भएर डेउडा कार्यक्रम आयोजना गर्दै आएका छौँ', समितिका अध्यक्ष विष्टले भनिन्, 'सबैबाट सल्लाह सुझाव संकलन गर्छौं पनि, त्यहीअनुसार अगाडि बढ्छौँ।'

पछिल्लो समय स्थानीय सरकारले हरेक जातजातिका मौलिकता र संस्कृति जर्गेनाका लागि सहयोग गर्दै आएका छन्। हरेका जातजातिका संस्कार र संस्कृति जगेर्नाका लागि सक्दो प्रयास थाल्दै आएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

डेउडा संस्कृति संरक्षणको अभियान सुरु

सिंहबाहिनी खेल मैदानमा आयोजना गरिएको डेउडा सांस्कृतिक कार्यक्रममा ठाकुरबाबा नगरपालिकासहित मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट बर्दिया झरेका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

बर्दिया थारू समुदायको बाहुल्यता भएको जिल्ला भए पनि यहाँ मध्य तथा सुदूरपश्चिमका पहाडी भेगबाट बसाइँ सरी आएका स्थानीयको बाक्लो बस्ती छ। बर्दिया झरेका पहाडी भेगका स्थानीयले यस क्षेत्रमा डेउडा संस्कृति संरक्षणको अभियान सुरु गरिरहेका छन्। हरेक वर्ष माघी पर्वको अवसर पारेर डेउडा कार्यक्रम आयोजना गरिँदै आएको छ।

'डेउडा संस्कृति संरक्षणको प्रयास थाल्नुपर्छ,' कालीकोटको खाडाचक्र घर भएका डेउडा कलाकार भानुप्रभात पाण्डेले भने, 'अहिले यो प्रयास थालिएको छ। डेउडालाई लोप हुनबाट रोक्नुपर्छ। यस्का लागि सम्पूर्ण स्थानीयसँगै सरकारलगायतका तीनै तहको समेत सहयोग गर्नुपर्ने जरुरी छ।'

युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाए

सिंहबाहिनी खेल मैदानमा केही समय माहोल निकै तातियो। केहि स्थानीयले आफूलाई हेर्न असहज भएको गुनासो गर्न थालेपछि सहज वातावरण बनाउने प्रयास थालियो। केही समय स्थानीय महिला, ज्येष्ठ नागरिक, युवायुवती लगायतका डेउडा प्रेमीहरू डेउडा हेरेर रमाए पनि। विशेष गरी वृद्धवृद्धा र महिलाबढी उत्साहित देखिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.