दाङ : दाङमा प्रहरीले रिहा भएलगतै विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्दै आएको छ। देउखुरी जिल्ला अदालत, घोराहीबाट धरौटीमा रिहा भएलगत्तै विप्लव समूहका तीनजना नेता कार्यकर्ता बुधबार पुनः पक्राउ परेका छन्।
संगठित रूपमा राज्यविरुद्ध अपराध गरेको अभियोगमा थुनामा रहेका उनीहरूलाई जिल्ला अदालतबाट पुस ७ गते धरौटीमा रिहा गर्न आदेश भएकोमा बुधबार अदालतमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरु पुनः पक्राउ परेका हुन्।
बुधबार पुनः पक्राउ पर्नेमा पार्टीका राप्ती व्यूरो कार्यालय सचिव सविन पोख्रेल, राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष बविन केसी र राप्ती व्यूरो सदस्य प्रदीप वली रहेका छन्।
अदालत परिसरबाट पक्राउ परेलगत्तै प्रहरीले राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष केसीलाई काठमाडौं लगेको छ। भने अरू दुईजनालाई अन्यत्र लगेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै बेलुकी ५ पुनः पक्राउ गरेको हो।
गत असोज ३० गते राजपुर गाउँपालिका ४ मुंग्रेठाबाट एकै पटक २१ जना पक्राउ परेका उनीहरुलाई पुसको ७ गते जिल्ला अदालतले १५/१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
यसअघि पनि सोही अभियोगमा पक्राउ परेकाहरू धरौटी छुटे पनि अदालत परिसरबाट पक्राउ परे। गएको असोजको ३० गते नेत्रविक्रम चन्द्र ‘विप्लव’का मध्यकमाड इन्चार्ज चन्द्रबहादुर चन्द्र ‘वीरजंग’सहित २१ जना एकै पटक पक्राउ परेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।