|

तनहुँ : भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई गरिव मान्छेलाई धनी बनाउने अभियान रुपमा परिचालन गर्नुपर्ने बताएकी छन्।

व्यास ३ दमौलीस्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै सहकारीमार्फत् गरिवी निवारणमा टेवा पुर्‍याउनुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘सहकारी आन्दोलनले पिँढीमा रहेका मानिसलाई कौसीमा पुर्‍याउने लक्ष्यका साथ अगाडि बढाउनुपर्छ।’

सरकार र सहकारी सँगसँगै साझेदारीमा अगाडि बढ्ने उनको भनाई छ। सहकारीमा सुशासन कायम भएन भने जनताले लगानी गरेको शेयर सदस्यको विश्वासलाई गुम्न दिन नहुने अर्यालले बताइन्। सहकारी संस्था धेरै भएकाले गुणस्तरीय बनाउनका लागि मर्ज गरेर थोरै बनाई कार्यक्षेत्र बढाउने लक्ष्यका साथ अगाडि बढेको उनले बताइन्। 

'सहकारी जनताको घर घरमा पहुँचमा भएको संस्था हो। यस्तो अरु कुनै संस्था नभएकाले जनस्तरसम्म विस्तार गर्न जरूरी छ। सहकारी संस्थामा महिला कुनैमा ९०, ८० त कुनैमा ७० प्रतिशत महिला सहभागिता छ। हिजोदेखि पछाडि पारिएका महिलाको संख्याको सरदरमा ६० प्रतिशत भन्दा बढी सहकारीमा सहभागिता रहेको छ' उनले भनिन्,' एकदम उत्साहका साथ महिला सहकारीमा लागेका छन्। यो धेरै सुखद कुरा भएको हो। अब युवालाई संख्या बढाउनुपर्छ।’

अब सहकारीमा समावेशी हुनुपर्ने पनि अर्यालले बताइन्। अब सहकारी संस्थामा गरिव, असाहाय, अपांग, दलित, आदिवासी, अल्पसंख्यक, सिमान्तकृत, भूमिहीन सबै समावेश हुनुपर्ने उनको दावी छ। आर्थिक क्रान्तिको लागि सहकारीले गरिवी निवारण गर्ने गरी लगानी गर्नुपर्ने उनले बताइन्। समाजवाद बृद्धि गर्नका लागि उत्पादनमा सहकारी जोडिनुपर्ने उनको भनाई छ। पूँजी विकासको चरण, पूँजी संकलनको चरण भएको उनको भनाई छ।

‘प्रत्येक मान्छेलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ,’ उनले भनिन्।मन्त्री अर्यालले लामो समयदेखि अव्यवस्थित बसोबास गर्दै आएका पीडित जनतालाई सरकारले न्याय दिने बताइन्। पीडितका नाममा सरकारी जग्गा व्यक्तिको नाममा गराउनेलाई सरकारले नछोड्ने चेतावनी उनले दिइन्।

भूमि व्यवस्थापन गर्नका निम्ति कानुन निर्माण गरिएको उनले बताइन्। उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय कृष्णकुमार श्रेष्ठ ‘किसान’ र केदार सिग्देल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित लगायतले सहकारीले उत्पादनलाई जोडेर समृद्ध नेपाल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.