|

दमक : मेचीनगर–१२ स्थित ईटाँभट्टामा गत पाँच दिन अघि शूरु भएको राष्ट्रिय स्वास्थ्य महोत्सवमा विरामीको चाप दैनिक बढ्दै गएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्टिय स्वास्थ्य महोत्सवमा पाँच दिनमा दश हजार बढीले स्वास्थ्य उपचार गराएको आयोजकले जनाएको छ।

गरिबहरु स्वस्थ्य उपचारका लागि अस्पताल जानबाट बञ्चित भैरहेका बेला गरिएको महोत्सवमा झापाका पूर्वी गाविसका अधिकांशले स्वस्थ्य उपचार गराइरहेको आयोजकले जनाएको छ। पूर्व दक्षिणको विकट गाविसहरुमा समय समयमा स्वस्थ्य शिविर गर्दै आएको काँग्रेसले यो पटक भने महोत्सव नै आयोजना गरेर सबै खालका विषेशज्ञ डाक्टरहरु यहाँ ल्याएको हो ।

महोत्सवमा मुटु, मधुमेह, मृगौला रोग बिषेशज्ञ उपचार सेवा, स्वास प्रस्वास, जनरल फिजिसियसन र आँखाका रोगीहरुका जाँच गराएको नेपाली कांग्रेसका नेता तथा महोत्सवका अभियन्ता विश्वप्रकाश शर्माले बताए। उनले यो स्वास्थ्य महोत्सव नेपालमा आयोजना भएको पहिलो स्वास्थ्य महोत्सव भएको बताए।

महोत्सवस्थलमा एक्सरे, ल्याब लगायतका सेवासहित औषधी समेत निशुल्क वितरण भैरहेको छ। २५ लाखको लागत अनुमान गरिएको महोत्सव एक हप्ता सम्म चल्ने भनिएको थियो। तर बिरामीको चाप बढेका कारण केही दिन महोत्सव लम्बिन सक्ने अभियन्ता विश्वप्रकाश शर्माले बताएका छन्। महोत्सवमा २५ हजार जनताले स्वास्थ्य सेवा लिने आयोजकको अपेक्षा रहेको छ । 

महोत्सवमा स्त्री रोग बिषेशज्ञ सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण, नशा रोग, मुटु , मधुमेह, र मृगौला लगायत रोगको पनि निशुल्क उपचार भैरहेको छ। महोत्सवमा काडमाडौँका विभिन्न अस्पतालका २५ जना भन्दा बढी विशेषज्ञ डाक्टरहरु आएका छन्। एक सय भन्दा बढीको संख्यामा स्वस्थ्यकर्मी खटिएको  आयोजकले जनाएको छ।

राजनीतिक अस्थिरताका कारण  जनतामा नैरास्यता छाएका बेला राजनीतिबाट पनि जनताको सेवा गर्न सकिन्छ भन्ने उद्देश्यले महोत्सव गरिएको आयोजक समितिका संयोजक इन्द्र बुढाथोकीले बताए। उनले भने,‘देशमा राजनीतिक दलहरु यतिबेला सत्ताको मोहमा छन्, त्यसैले अरु दलहरुलाई पनि सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलोस् भन्नालाई यो महोत्सवको आयोजना गरिएको हो।'

महोत्सवमा स्वास्थ्य जाँच गराउन आउनेहरुमा विषेश गरेर गरिब, पिछडिएको वर्ग र स्वस्थ्यको पहँुच नपुगेका जनता  रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.