|

बुटवल : राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रदेश-५ मा नेकपाका तीनैजना उम्मेदवार विजयी भएका छन्।

सत्तारूढ दल नेकपाबाट अपाङ सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्। 

नेकपाका तर्फबाट जगप्रसाद शर्मा ५ जजार ४ सय २४ मतभारसहित विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका मेराज अहमद हलवाइले १ हजार ९ सय ८६ मतभार प्राप्त गरेका थिए भने संघीय समाजवादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन्।

यस्तै, महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरेले ५ हजार ७७८ मतभार ल्याएर विजयी भएकी छिन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपाने २१०० मतभार प्राप्त गरिन्।

त्यसैगरी, अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराईले ५ हजार ३८२ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले भने १५६ मतभार प्राप्त गरेका छन्।

प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.