बाहिरबाट नियुक्त हुने सम्भावना न्यून

|

काठमाडौं : नेपाल राष्ट्र बैंकका १६ औँ गभर्नर डा. चिरञ्‍जीवी नेपालको कार्याकाल आगामी चैतमा सकिँदैछ। दुई महिनामध्ये एक एक महिना घर बिदामा जाने चलन छ। यसले उनी सक्रिय हुने समय करिब एक महिना मात्रै  छ। यो अवस्थामा १७ गभर्नरको खोजी हुन थालेको छ।

मर्यादाक्रममको आधारमा ११ औँ स्थानमा रहे पनि राष्ट्र बैकको गभर्नरका लागि संवैधानिक आयोगका व्यक्तिले पनि इच्छा देखाउने गरेका छन्। गभर्नर वित्तीय क्षेत्रको नेतृत्वकर्ता भएका यो पदमा बढी आकर्षण देखिने गरेको छ।

अबको केही साताभित्र अर्थमन्त्रालयले आगामी गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नु पर्नेछ। अहिलेसम्म चारजनाको नाम विशेष चर्चामा रहेको राष्ट्र बैंकमै चर्चा चल्ने गरेको छ।

१७ औँ गभर्नरको चर्चामा रहेका चारैजना राष्ट्र बैंकका कर्मचारी पृष्ठभूमिका छन्।अहिलेसम्म गभर्नरमा दाबी गर्नेमा राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ छन्। डा. युवराज खतिवडाको गभर्नर कार्यकालमा डेपुटी गभर्नर भएका महाप्रसाद अधिकारी र राष्ट्र बैंकको कार्यकारी निर्देशक छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो पटकको प्रधानमन्त्रीको कार्यकालमा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनेका डा. मिनबहादुर श्रेष्ठ लविङमा छन्। 

यो पदका लागि योग्यता र कार्यक्षमतामा अब्बल त हुनुपर्छ नै सरकारले नियुक्ति गर्ने भएकाले सत्तारुढ दलको निकटताले पनि तात्विक अर्थ राख्छ। 

त्यस्तै प्रधानमन्त्री र अर्थमन्त्रीसँगको सामिप्यता पनि गभर्नरको नियुक्तिको अर्को अर्थपूर्ण पाटो हो। चर्चामा रहेका चारमध्ये तीनजना नेकपानिकट मानिन्छन्। शिवराज श्रेष्ठ प्रधानमन्त्री पत्‍नी राधिका शाक्यका आफन्त हुन्। डेपुटी गभर्नर भएकाले उनी एकजना बलिया दाबेदार हुन्। 

अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरेर वा नगरी योग्यता पुग्‍नेमध्ये तीनको नामा मन्त्रीपरिषद्‍मा पठाउँछन्। मन्त्रिपरिषद्‍बाट एकजनालाई नियुक्त गरिने छ, अन्तिममा निर्णायक प्रधानमन्त्री हुनेछन्। 

कसको सम्भाना कति? 

चारजनाको नाम रहे पनि राष्ट्र बैंककै पूर्वर्कायकारी निर्देशक भाष्करमणि ज्ञवाली र राष्ट्र बैंक सञ्‍चालन समिति सदस्य सुवोध कर्ण पनि गभर्नरको दौडमा देखिएका छन्।

राष्ट्र बैंकका माथिल्लो तहका अधिकारी र सरकानिकट अर्थविद्हरूका अनुसार अहिले चर्चामा रहेका चारमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र राष्ट्र बैंकका हालका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको सम्भावना बढी रहेको बताइन्छ।

श्रेष्ठ राष्ट्र बैंकमा लामो समय काम गरेका व्यक्ति हुन्। स्थायी घर म्याग्दी भएका श्रेष्ठ पूर्व माओवादी र त्यसमा पनि नेकपा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ ले रुचाएका पात्र हुन्। प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्र बैंकको कार्यकारी निर्देशक पद त्याग गरेर उनी सीमित समयमका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भएका थिए।

विदेशमा बसेर पढेको र काम गरेको अनुभव भएका उनले अर्थशास्त्रमा पिएचडी गरेका छन्। एकातर्फ नेकपा अध्यक्षसँग निकट, अर्कातिर वित्तीय क्षेत्रको नेतृत्व गरेकाले उनको सम्भावना बढी रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। उनको सम्भावना बढी हुनुका पछाडि अर्थमन्त्रालयमा तत्कालीन एमालेनिकट डा. युवराज खतिवडा अर्थमन्त्रीका कारण पनि हो।

उत्तिकै बलिया उम्मेदवारको रुपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पनि छन्। राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये उनी सिनियर  हुन्।

‘गभर्नर छनोट कार्यविधिमा सिफारिसमा पर्ने तीनमध्ये एकजना डेपुटी गभर्नर हुनुपर्ने व्यवस्था छ। सिनियर गभर्नर र नेकपानिकट रहेकाले उनको सम्भावना बढी हुनु स्वभाविक भएको बताइन्छ। राष्ट्र बैंकका निरन्तर काम गरेका कारण बैंक तथा वित्तीय संस्था नियमनमा उनको भूमिका बढी प्रभावकारी हुने देखिन्छ।

भेगिय स्वार्थ गासिँदा पनि उनी झापाका हुन् भने सिफारिस गर्ने अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी ओली पनि झापाकै हुन्। उनलाई अर्थमन्त्रीले भन्दा बढी प्रधानमन्त्रीले रुचाएको बताइन्छ।

अधिकारी र श्रेष्ठ पनि दौडमा

पूर्व डेपुटी गभर्नर अधिकारीको सम्भावना पनि उस्तै छ। उनी अहिले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन्।

लगानी बोर्डमा पछिल्लो समयमा देखाएको सक्रियतालाई पनि कतिले गभर्नरको दाबेदारका रुपमा लिएका छन्। उनी प्रधानमन्त्रीले रुचाएकै पात्र भएकाले लगानी बोर्डमा दोस्रो कार्यकाल चलाइरहेका छन्।

लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। बोर्डको उपाध्यक्ष अर्थमन्त्री हुन्छन्। यो अवस्थामा उनको लबिङ पावर बढी भएको बताइन्छ।

डेपुटी गभर्नर भइसकेको अवस्थामा राष्ट्र बैंकको गभर्नर हुने उनको चहानालाई स्वभाविक रुपमा लिएको छ। तर लगानी बोर्डलाई नै थप सक्रिय बनाउन उनी नै उपयुक्त हुने बुझाइ प्रधानमन्त्रीको रहेमा उनले त्यहीँ निरन्तर पाउन सक्छन्।

अधिकारी प्रधानमन्त्रीले भन्दा बढी अर्थमन्त्रीले रुचाएका पात्रका मानिन्छन्। चर्चामा रहेका चारमध्ये अर्थमन्त्रीले बढी रुचाएका पात्र भएकाले उनी सिफारिसमा पर्ने र प्रधानमन्त्रीको मन जित्‍न सक्दा गभर्नरको सम्भावना रहेको बताइएको छ।

श्रेष्ठ पनि डेपुटी गभर्न भएकाले चर्चामा छन्। राष्ट्र बैंकमा अनियमितता गरेको भन्दै अर्थमन्त्री वा अर्थमन्त्रालयबाट छानबिन गरिँदा मन्त्रिपरिषद्ले निर्दोष ठहरेको छ। त्यसैले उनी पनि उपयुक्त पात्र हुने बताइन्छ।

श्रेष्ठ कांग्रेसनिकट मानिए पनि प्रधानमन्त्री पत्नी राधिकाकाका आफन्त हुन्। उनलाई प्रधानमन्त्रीले अघि सार्न सक्ने बताइन्छ। विगतमा पनि जुनियर डेपुटी गभर्नर गभर्नर भएको उदाहरण छ।

राष्ट्र बैंकमा डा. हरिहरदेव पन्त र सतेन्द्र प्यारा श्रेष्ठ डेपुटी गभर्नर भएको समयमा सरकारले सतेन्द्रलाई गभर्नर बनाएको थियो। पन्तले जुनियरलाई बनाएको भन्दै राजीनामा दिएका थिए। प्रधानमन्त्रीले चाहेमा जुनियर डेपुटी गभर्नर पनि राष्ट्र बैंकको शीर्ष पदमा पुग्नेछन्।

हालसम्मका गभर्नर :

  • १. हिमालय सम्शेर जबरा
  • २. लक्ष्मीनाथ गौतम
  • ३. प्रद्युम्नलाल राजभण्डारी
  • ४. डा. भेष बहादुर थापा
  • ५. डा. यादव प्रसाद पन्त
  • ६. कुलशेखर शर्मा
  • ७. कल्याण विक्रम अधिकारी
  • ८. गणेश बहादुर थापा
  • ९. हरिशंकर त्रिपाठी
  • १०. सत्येन्द्र प्यारा श्रेष्ठ 
  • ११. डा. तिलक बहादुर रावल
  • १२. दिपेन्द्र पुरुष ढकाल
  • १३. विजयनाथ भट्टराई
  • १४. दिपेन्द्र बहादुर क्षेत्री
  • १५. युवराज खतिवडा
  • १६. डा. चिरञ्जीवी नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.