|

काभ्रे  : नगरपालिकाले बासस्थान उठाएपछि बिचल्लीमा परेका दृष्टिविहीन कृष्णमान तामाङ न्याय माग्दै प्रशासन कार्यालय धाइरहेका छन्। बनेपा नगरपालिकाले अस्थायी टहरा भत्काएर सामानसमेत लगेपछि ६० वर्षीय तामाङ बिचल्लीमा परेका हुन्।

काभ्रेको बिर्ता देउराली गाविस–३ का कृष्णमान २०४३ सालदेखि नेपाल नेत्रहीन संघले दिएको लायकुस्थित भवनमा बस्थे। गत २०७२ साल बैशाख १२ को भूकम्पले घर भत्केपछि नगरपालिकाको जग्गामा अस्थायी टहरा बनाएर बस्न उनलाई अनुमति दिएको थियो। उनी बनेपाको फुटपाथमा सामान बेचेर गुजारा चलाउँदै आएका थिए।

गत पुस २६ गते नगरपालिकाले लायकुमा रहेको अस्थायी टहरा भत्काएको थियो। ‘नगरपालिकाको कर्मचारी आएर टहरा भत्काएर मेरो ओढ्ने ओछ्याउने र पसलका सामानहरु सहित उठाएर लगेको आज २० दिन भयो।’ कृष्णमानले पीडा पोख्दै भने, ‘मेरो गाँस न बास बनायो।’ 

नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुलीले सबै भूकम्प पीडितको टहरा भत्काउँदा उनको पनि भत्काएको स्वीकार गरे। ‘अस्थायी टहरा पनि नछोड्ने छोराबुहारीसँग बस्न नमानेकाले उहाँलाई समस्या भइको हो’, पराजुलीले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.