|

अर्घाखाँची : गाउँको विकास कुर्दाकुर्दै सिद्धाराका ज्ञानेश्वर बेल्बासेको उमेर ढल्किसक्यो। गाउँमा अहिलेसम्म विकासले गति लिएको छैन। वर्षौंअघि थालिएका योजना अधुरै छन्।

गाउँमा बाह्रै महिना गाडी चल्ने मोटरबाटो, खोला तर्न झोलुंगे पुल, पिउने पानी, स्वास्थ्यचौकी र विदेशमा रहेका सन्तानसँग घरमै बसेर कुरा गर्ने सुविधा चाहिएको छ।

'कुसुम खोलामा झोलुंगे पुल हाल्न प्रधानपञ्चदेखि हालसम्मका नेता र सांसदलाई भनिरहेको छु' बेल्बासेले भने, 'आश्वासन दिन्छन् तर काम कसैले कहिल्यै गरेनन्।'

सिद्धाराको धेरै भूगोलबाट कुसुमखोलाको पानी राप्ती खोलामा मिसिएको छ। मावि पढ्न बहखोर जान धेरै खोला तर्नुपर्छ। वर्षामा बाढी आउँदा छोराछोरीलाई धमिलो खोला तारेर स्कुल पठाउन नसकिने उनले बताए। चुनावताका भोट माग्न गाउँमा आउने नेतालाई पुल बनाइदिन, मोटरबाटो ल्याइदिन, खानेपानी व्यवस्था गरिदिन सधैं माग गर्छन्। भोट तान्न चुनावताका नेताले आश्वासन दिन्छन्। जितेर गएपछि फर्केर कहिल्यै हेर्ने काम भएन उनले गुनासो गरे।

एक टोलबाट अर्कोमा पुग्‍न घण्टौँ

साबिकको सिद्धारा गाविस नयाँ संरचना अनुसार शीतगंगा नगरपालिकाका तीनवटा वडामा विभाजित छ। एउटा टोलबाट अर्को टोलबस्तीसम्म पुग्न घण्टौं पैदल हिँड्नुपर्छ।

एक बस्तीबाट अर्को बस्तीमा जान जंगल छिचोल्नु पर्ने भएकाले एक्लै हिँडे चितुवा र भालुको आक्रमणमा परिने डर हुन्छ। जल, जमिन, जंगल, जडीबुटीले बस्ती धनी भए पनि न्यूनतम सुविधा भने केही नभएकाले समस्या परेको यहाँका स्थानीय बताउँछन्।

सिद्धारा स्वास्थ्य चौकी पुग्न लिसिकुना, पाकुरीलगायत धेरै बस्तीबाट ६/७ घण्टा पैदल हिँड्नुपर्छ। सामान्य रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामीले उपचार पाउनै कठिन रहेको स्थानीय कमला बेल्वासेले बताइन्। 'म गर्भवती हुँदा नियमित स्वास्थ्य चौकीमा आउन एकदिन लाग्थ्यो' उनले भनिन्, 'जोखिम हुन सक्छ भनेर बच्चा जन्माउने बेलामा दश दिनअघि नै गाँउबाट ऋण खोजेर बुटवल गएको थिएँ।'

छरिएर रहेका बस्तीका घरमा पुगी बिरामी जाँच्न पनि स्वास्थ्यकर्मीलाई सम्भव छैन। सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पाउने नीति अघि सारे पनि सिद्धाराका दुर्गम बस्तीका बासिन्दाले सेवा पाउन सकेका छैनन्। बिरामी भएमा आफूले जाने बुझेको घरकै जडीबुटीको भर छ।

हर्रेका सन्तोष पोखरेललाई गाउँमा जताततै मोबाइल सेवा सहज भइदिए हुन्थ्यो भन्ने लाग्छ। मोबाइलमा इन्टरनेट चल्दैन। 'स्वदेश तथा विदेशमा रहेका साथीभाइ, नातेदारसँग भिडियो कलमा कुरा गर्न पाइँदैन', उनले भने,  'मोबाइलको टावर खोज्न अग्लो ठाउँ खोज्दै हिँड्नुपर्छ।'

सिद्धाराको लिसिकुना, पाकुरी, खयरबट्टी, बाटुले, दुम्सीलगायत गाउँमा मोटर बाटो खनिएको छ। तर सधैं गाडी गुड्न सक्ने अवस्था छैन। ग्रेड मिलेको छैन। डोजर चालकले आफैं अन्धाधुन्ध मोटरबाटो खनेकाले यस्तो भएको स्थानीय बताउँछन्।  स्थानीय सीता आचार्यले भनिन्, 'सरकारी बजेट दुरुपयोग भए पनि अनुगमन गर्न कोही आउँदैनन्।' गाउँमा आउने सांसद, जनप्रतिनिधि र दलका नेताले भाषण गरे पनि केही काम नगरेको उनले बताइन्।

छरिएर रहेको बस्ती भएकाले विद्युत विस्तार गर्न पनि उस्तै समस्या छ। भूगोल नै जटिल भएकाले विकासका काम तीव्र गतिमा अघि बढाउन नसकिएको सांसद एवं जनप्रतिनिधि बताउँछन्।

कम बजेटले काम गर्न सकेनौँ

शीतगंगा नगरपालिका–१० का वडाध्यक्ष हिम्मत पोखरेलले भूगोलअनुसार बजेट अत्यन्तै न्यून भएकाले मागअनुसारका योजना सञ्चालन गर्न नसकिएको बताए। 'वडाको बजेटले साना योजना र कार्यक्रम सञ्चालन गर्नै पुग्दैन' उनले भने, 'गाउँका सर्वसाधारणलाई सरकारी सेवा पुर्‍याउने लक्ष्य रहे पनि शहर र सुगमजस्तो दुर्गम बस्ती हुँदो रहेनछ।'

संघीय सरकारले दुर्गम भएका पालिकालाई विशेष क्षेत्र घोषणा गरेर थप बजेट पारेर विकासका काम गर्ने योजना अघि सारेको छ।

यस क्षेत्रका सांसदले बजेट र विकासका लागि  प्रदेश-५ को सरकारलाई पटकपटक मुख्यमन्त्रीलाई भने पनि चासो नदिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।

सिद्धाराका अधिकांश ठूलो क्षेत्रफलमा रहेका खेतीयोग्य जमिन बाँझो छ। कसैले खेती गर्ने इच्छाशक्ति राखे पनि वन्यजन्तुले खान दिँदैन। यहाँका स्थानीय परिवारसहित कामको खोजीमा शहर पसेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.