|

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महिलाको अपमानको अन्त्य गर्न ५० प्रतिशत महिला अबको निर्वाचनमा प्रमुखको रूपमा आउनुको विकल्प नभएको बताएकी छन्। शुक्रबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले काठमाडौंमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै काठमाडौं महानरपालिकाकी उपमेयर खड्गीले स्थानीय तहका उपप्रमुखलाई केही अधिकार दिइए पनि त्यो पर्याप्त नभएको बताइन्। उनले महानगरको प्रमुखको अपमानमा बसेर काम गर्न निकै कठिनाई हुने गरेको समेत बताइन्।

अहिले धेरै स्थानीय तहमा प्रमुखहरू पुरुष रहेको र प्रमुखहरूले उपप्रमुखहरूलाई अपमान गर्ने गरेको भन्दै उपप्रमुख खड्गीले राजनीतिक रूपमा महिला अगाडि नबढेसम्म महिलाको आवाज अगाडि आउन नसक्ने उल्लेख गरिन्।

त्यस्तै, उनले संविधानले नै आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएकाले काठमाडौं महानगरका ३२ वटै वडाका अध्यक्षलाई राखेर प्रशिक्षण दिन आवश्यक रहेकोले छिटै प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने बताइन्।

उनले महिलाले श्रीमानको नामबाट नागरिकता लिन हुन्छ भने श्रीमानले श्रीमतीको नामबाट नागरिकता लिन पनि हुने बताइन्। महिलाले पाउने अधिकारबाट वञ्चित नगर्न महिलालाई पनि महिला अधिकारसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो।

महिला कानुन र विकास मञ्चले सन् २०१९ मा काठमाडौं जिल्लाबाट मात्र बाबु नभएकाहरू १३ जनालाई कानुनी मुद्दा लडेर नागरिकता प्रदान गरेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यक्रममा बताए। श्रेष्ठले संस्थाले गत वर्ष सम्पन्न गरेका सामाजिक कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.