|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होछारजस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन्।

तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्त्व रहेको उल्लेख गरिन्।

‘यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।’

सोनाम ल्होछार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाउने बताउादै राष्ट्रपति भण्डारीले देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भनी शुभकामना व्यक्त गरेकी छन्। 

चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.