|

तनहुँ : हिमाली क्षेत्रमा अत्याधिक हिउँ पर्न थालेपछि मुस्ताङबासी पहाडी जिल्ला तथा राजधानी काठमाडौंतर्फ झर्ने गर्दछन्। त्यस्तै, मुस्ताङका विद्यार्थी तथा शिक्षक कर्मचारी चिसो छल्दै पढाइलाई निरन्तरता दिनका लागि तनहुँ आएका छन्। मुस्ताङको लोघेकर दामोदरकुन्ड गाउँपालिका-३ घिलिङ स्थित जनज्योती आधारभूत विद्यालय र सोही गाउँपालिका-२ को घमिसोलर आधारभूत विद्यालयका विद्यार्थी अध्ययनका लागि तनहुँ आएका हुन्।

शिक्षक तथा कर्मचारीहरु विद्यार्थी सहित पढाईका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित तिब्बेतीयन क्याम्पभित्र सञ्चालित लेकश्यद छल निन्न माध्यामिक विद्यालयमा अध्ययन तथा अध्यापन गरिरहेका छन्। अत्यधिक हिमपातले गर्दा पढाइ नै प्रभावित भएपछि मुस्ताङका विद्यार्थी अध्ययनका लागि यहाँ आएको उनीहरु बताउँछन्। भारी हिमपातले हिमाली क्षेत्रको जनजीवन कष्टकर अध्ययनमा प्रत्यक्ष प्रभाव पर्ने भएपछि बसाइँ सर्नुपर्ने उनीहरुलाई बाध्यता हुने गर्दछ।

हिमपातले विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले पढाइलाई निरन्तरता दिन त्यहाँका विद्यार्थीसहित शिक्षकको टोली नै बेसी झरेको मुस्ताङको जनज्योति आधारभूत विद्यालय प्रधानाध्यापक निग्मा ठिनी गुरुङले बताए। उनका अनुसार जाडो मौसम सुरुवात भएपछि हिमपातले जनजीवन कष्टकर बन्नुका साथै पढाइमा समेत प्रभाव पर्छ। जसले गर्दा जाडो मौसममा विद्यालय बन्द गर्नुपर्ने भएपछि विद्यार्थीसहित पढाइलाई निरन्तरता दिन यहाँ आएको प्रधानाध्यापक गुरुङले बताए।

‘घर बाहिर निस्किएर हिँडडुल गर्न सक्ने अवस्था हुँदैन, यस्तो अवस्थामा विद्यार्थीहरु विद्यालय जाने कुरै भएन, चिसोले बालबालिका बढी प्रभावित हुन्छन्,’ उनले भने, ‘उनीहरू कठ्यांग्रिदै विद्यालय आउजाउ गर्न बाध्यता हुन्छन्, चिसोले पनि बिरामी नै हुन्छन्, यसले गर्दा पनि विद्यार्थीसहित यहाँ आएका हौँ।’ बेसी झर्दा विद्यार्थीको पढाइलाई नबिगार्ने र चिसोबाट पनि बच्न टेवा पुग्ने भएकाले विद्यार्थीलाई लिएर यहाँ आएको उनले बताए।

चिसो छल्नुका साथै अध्ययनलाई सँगसँगै अगाडि बढाउन सकिने भएकाले मुस्ताङबाट यहाँ आएको उनीहरु बताउँछन्। प्रधानाध्यापक गुरुङका अनुसार मुस्ताङमा माइनस २५ देखि ३० डिग्रीसम्म हुने भएकाले समस्या हुने गर्दछ। मुस्ताङको दुई विद्यालयका १४३ जना विद्यार्थी तनहुँ आएको प्रधानाधयापक गुरुङले जानकारी दिए। कार्तिक महिनादेखि नै त्यहाँ पानी जम्ने हुँदा बालबालिका बढी प्रभावित हुने गर्दछन्।

अत्यधिक हिमपात भएपछि विद्यार्थीहरुलाई चिसोबाट जोगाउन र फरक ठाउँको वातावरणसँग घुलमिल हुँदै यहाँको शैक्षिक गुणस्तरबाट सिक्न र सिकाउन समेत टेवा पुग्ने मुस्ताङको जनज्योती आधारभूत विद्यालय मुस्ताङका शिक्षक दुर्गाप्रसाद पौडेलले बताए। उनका अनुसार मुस्ताङबाट विद्यार्थीसहित पुस २० गते आएर अध्ययनलाई गरिरहेका छन्। यहाँ अध्ययन तथा अध्यापन गराउदा विद्यार्थी तथा शिक्षकको खर्च भने मुस्ताङको लोघेकर दामोदरकुन्ड गाउँपालिकाले नै व्यहोर्ने जनाइएको छ।

विद्यार्थीलाई यहाँ ल्याएपछि अभिभावक पनि जाडो छल्नुका साथै व्यापार गर्न अन्यत्र जाने गर्दछन्। धेरै विद्यार्थी भएकाले व्यवस्थापनमा भने समस्या भएको छ। विद्यार्थीहरुको व्यवस्थापनका लागि अन्त कतै पर्याप्त ठाउँ नपाएकोले पनि यहाँ आएका हुन्। उनीहरू फागुन १५ गतेसम्म तिब्बतीयन क्याम्पभित्र बस्नेछन्। फागुन १५ गतेपछि भने गर्मी बढ्ने र हिउँ पग्लिन थालेपछि जनजीवन सहज हुने भएकाले लेक फर्किने शिक्षक पौडेलले बताए।

यसवर्ष मात्रै नभई उनीहरू प्रत्येक वर्ष जाडो लागेसँगै यहाँ आउने गर्दछन्। चिसोले मुस्ताङको विद्यालय जान र पढ्न समस्या हुने गरेको कक्षा ८ का कर्म होसेर गुरुङले बताए। ‘मुस्ताङमा चिसो छ, चिसोले कक्षामा बसेर पढ्नु भन्दा बाहिर घाम लागेकोतिर ध्यान जान्छ, पढाईमा ध्यान जाँदैन,’ उनले भने, ‘हामी पढ्न त के घरमा बस्न पनि सक्दैनौं, तर यहाँको मौसम धेरै राम्रो छ, नयाँ तरिकाबाट पढ्न र सिक्न पाएका छौं, यहाँ हामीलाई चिसोको समयमा पनि जाडो भएको अनुभव गरेका छैनौं, यहाँ पढ्नका लागि मौसमले सहयोग गरेको छ।'

मुस्ताङका विद्यार्थी अध्ययन गरिरहेको शुक्लागण्डकी नगरपालिका–८ स्थित लेकश्यद छल निन्न माध्यामिक विद्यालयको हाल जाडो बिदा गरिएको छ। जाडो बिदामा खाली रहेको समयमा विद्यालयको सदुपयोग मुस्ताङी विद्यार्थीहरुले गरेका छन्। गाउँपालिकाले बालबालिकाको पढाइ नबिगार्ने उद्देश्यले यसको व्यवस्थापन गरेको हो। चिसोमा त्यस क्षेत्रका अधिकांश स्थानीयवासी बेशी झर्ने गर्दछन्। १४३ विद्यार्थीसहित २१ शिक्षक र चार जना कार्यालय सहयोगी पनि उनीहरूसँगै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.