|

गोरखा : गोरखा अस्पताल आसपास सञ्चालनमा रहेका केही फार्मेसीहरू एक ठाउँमा दर्ता भएर दुई ठाउँबाट व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ। सिर्जना फार्मेसी र अर्याल फार्मेसीले दुई ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको पाइएको हो।

यी दुई फार्मेसीले दुई ठाउँमा व्यवसाय सञ्चालन गर्न पालना गर्नुपर्ने व्यवस्था उल्लंघन गर्दै अस्पतालको पुरानो गेट र नयाँ गेटबाट फार्मेसी सञ्चालन गरिरहेका हुन्।

मापदण्डविपरीत दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्ने सिर्जना फार्मेसी विपना श्रेष्ठको नाममा दर्ता रहेको र अर्याल फार्मेसी रमा अर्यालको नाममा दर्ता रहेको गोरखा नगरपालिका-६ ले जनाएको छ।

यी दुवै फार्मेसीले दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्न इजाजत नलिएको स्वीकार गरेका छन्। ‘नयाँगेटको सटरमा स्टक सामानमात्र राख्ने गरिएको छ’, सिर्जना फार्मेसीका सञ्चालक कृष्ण श्रेष्ठले भने, ‘त्यहाँबाट सामान बेचिँदैन।’

त्यस्तै रमा अर्याल फार्मेसीका सञ्चालक कुशलमान बस्नेतले पनि दुई ठाउँमा सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरेको स्वीकार गर्दै यथासीघ्र मापदण्ड पूरा गरेर सञ्चालन गर्ने जनाए।

‘एक ठाउँमा दर्ता भएर दुई ठाउँमा व्यवसाय सञ्चालन गर्न पाइन्न। गरेका छन् या छैनन भन्ने बिषयमा मलाई खासै जानकारी छैन’, वडा ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्यालले भने, ‘यस विषयमा अनुगमन गरेर मापदण्डविपरीत काम गरेका छन् भने मापदण्ड पूरा गर्न लगाउँछौँ।’

वडाअध्यक्षका अनुसार सिर्जना र रमा अर्याल दुवै फार्मेसीले आर्थिक वर्ष २०७३/०७४ देखि राजस्वसमेत तिरेका छैनन्। ‘यो वर्षको समेत गरेर उहाँहरूको तीन वर्षको कर तिर्न बाँकी रहेछ। अब तिर्न आउँदा जरिवाना समेत लाग्छ’, उनले भने।

एक ठाउँमा फार्मेसी दर्ता भएर दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्न नपाउने भन्दै गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले यसो गर्दा राजस्व छलीसमेत हुने तर्क गरे। ‘एक ठाउँमा फार्मेसी व्यवसाय दर्ता गरेर दुई ठाउँबाट सञ्चालन गर्नु मापदण्डविपरीत हो’, उनले भने, ‘दुई ठाउँमा व्यवसाय सञ्चालन गरेर एक ठाउँको मात्रै कर तिर्दा राजश्व छली हुन्छ।’

‘फार्मेसीहरूलाई नियमन गर्ने निकाय औषधी व्यवस्था विभाग हो। तर, नगरपालिकाभित्र भएका कानुनविपरीतका कामलाई निरुत्साहित गर्न नगरपालिका पनि लागिपर्छ’, उनले भने।

एक ठाउँमा दर्ता गरी दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्न नपाइने घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख नवराज पौडेलले दावी गरे। ‘एक ठाउँमा व्यवसाय दर्ता गरेर दुई ठाउँबाट सञ्चालन गर्न पाइँदैन। यदि एक ठाउँमा दर्ता गरेर कोही कसैले दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्नेलाई कारवाही हुनेछ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.