|

सर्लाही : सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले गतवर्ष उत्पादन गरेको चिनी उद्योगबाट लैजान थालेपछि स्थानीय किसानले अवरोध गरेका छन्।

शनिबार उद्योगमा चिनी लोड गर्न ट्रक ल्याएपछि स्थानीय किसान जम्मा भएर चिनी निकासीमा रोक लगाएका हुन्। आफूहरूसँग कुनै पनि समन्वय नै नगरी दर्जनौं सुरक्षाकर्मीसहित शनिबार बिहान ५ बजे नै आधा दर्जन ट्रक चिनी लोड गर्न उद्योगमा प्रवेश गरेको प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले बताए। उनले भने, 'दर्जनौं सुरक्षाकर्मी राखेर उद्योगबाट चिनी निकासीका लागि ट्रक ल्याइएको थाहा पाउनेबित्तिकै किसान मूल गेटमा धर्ना दिइरहेका छौं।’

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह समेत उद्योगको मूलगेटमा धर्ना बसेको स्थानीय किसान भोला राय यादवले जानकारी दिए। ‘अन्नपूर्ण चिनी उद्योगले किसानले बिक्री गरेको करोडौं रकम भुक्तानी गरेको छैन। प्रदेश सांसद् सिंहले किसानको अघिल्लो वर्षहरूको रकम भुक्तानी नभएसम्म उद्योग चल्न पनि दिदैनौं। गोदाममा भएको चिनी पनि लान दिदैनौं।’

प्रदेश सांसद सिंहको नेतृत्वमा सयौं किसान बिहानैदेखि चिनी उद्योगको मुलगेटमा धर्ना दिइरहेका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उद्योग मन्त्रालय र गृह मन्त्रालयबाट अन्नपूर्णको चिनी निकासीका लागि आवश्यक सहजीकरण एवं सुरक्षा व्यवस्था मिलाइ दिनु भन्ने पत्र आएकाले सोही अनुसार सहयोग गरिएको जानकारी दिए।

उनले भने, 'उद्योग तथा उक्त उद्योग सञ्चालकको सम्पूर्ण बैंक खाता रोक्का भइसकेको छ। कृषकको भुक्तानी गर्नका लागि उद्योगमा भएको चिनी बिक्री गर्ने र सो उद्योग सञ्चालकलाई विद्युत प्राधिकरणबाट आउने रकम समेत किसानलाई भुक्तानी गर्ने सहमति भएकाले चिनी निकासीका लागि तयारी भएको हो।'

अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। केही दिनअघि मात्र उधोगले ३ करोड ९० लाख भुक्तानी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.