|

बारा (डुमरवाना) : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रको टाँगियाबस्तीमा तत्काल विद्युतीकरणका गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।

२८५६ औं सोनाम ल्होसारको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा सुन्दरबस्ती युवा क्लबले आयोजना गरेको कार्यक्रममा घिसिङले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा रहेको टाँगियाबस्तीलाई अँध्यारोमुक्त गर्न तत्काल विद्युतीकरणको पहल थाल्न विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई निर्देशन दिएका हुन्।

सरकारले  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सो क्षेत्रमा रहेका स्थानीयलाई अन्यन्त्र पुनर्स्थापनाको प्रकिया शुरु गरिरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने सो क्षेत्रका स्थानीयलाई विद्युत् वितरण गर्न  सार्वजनिक कार्यक्रममार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन्।

सरकारले सो क्षेत्रका स्थानीयलाई अन्यत्र व्यवस्थापन गर्नकै लागि विगत १० वर्षदेखि  विकास निमार्णको सबै काम रोकिएको छ। नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना क्षेत्रमा  स्थानीयलाई विद्युत् वितरण गर्न निर्देशन दिनु विवादास्पद मन्तव्य भएको स्थानीय जनप्रतिनिधिले टिप्पणी गरेका छन्।

हाल टाँगियावस्ती क्षेत्रमा १४ सय ७६ घरधुरीलाई सरकारले अन्यत्र व्यवस्थापन गर्ने प्रकिया शुरु गरिसकेको छ। 

‘त्यति ठूलो घरधुरी संख्या भएको बस्ती अँध्यारोमा बसिरहेको सुन्दा मलाई अत्यन्तै दु:ख लाग्यो। ढुक्क हुनुस्। त्यहाँ तत्काल विद्युत पुग्नेछ’ निर्देशक घिसिङले भने।अर्को एक फरक प्रसंगमा घिसिङले अगामी २ देखि ३ वर्षभित्र देशभर नै विद्युत  पुर्‍याउने सरकारको लक्ष्य रहेको र  विद्युत् प्राधिकरणले कार्यान्वयन गर्ने बताए। ‘एक वर्षभित्रै शतप्रतिशत विद्युत् पुर्‍याउनका लागि हामीले ४० वटा जिल्ला छानेका छौं। त्यसमा बारा पनि पर्दछ’ उनले भने, ‘टाँगियाबस्तीको १४ सय ७६ घरधुरीको क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा रहेछ। तर त्यहाँ विमानस्थल बन्दै गर्छ विद्युत् पनि पुग्छ।’ 

विद्युत प्राधिकरणले पछिल्लो ३ वर्षमा ६२ प्रतिशतबाट ८३ प्रतिशत विद्युत् वितरण गरेको घिसिङको दावी छ। ‘करिव ८ लाख नयाँ ग्राहक हामीले बढाएका छौं। देशभरका गाउँ गाउँमा विद्युत् पुर्‍याउन प्राधिरकण कार्यान्वयनको चरणमा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.