|
नयाँ शक्तिको नयाँ झण्डा र चुनाव चिन्ह

काठमाडौं : नयाँ शक्ति नेपालले पार्टीको झण्डा परिवर्तन गर्नुका साथै चुनाव चिह्न पनि तय गरेको छ। पार्टीको हालै बसेको बैठकले रातो भूइँमा पाँचवटा पाँचकुने तारा भएको झण्डा बनाउने र चुनाव चिन्हका रुपमा 'आँखा' प्रयोग गर्ने निर्णय गरेको हो।

नयाँ शक्तिले यसअघि रातो भूइँमा एउटा पाँचकुने तारालाई झण्डाको रुपमा प्रयोग गर्दै आएको थियो। त्यसमा विवाद भएपछि ५ वटा तारा राख्ने निर्णय गरिएको हो। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल नेपाल र नेकपा माले जनसमाजवादीले झण्डा आफूहरुकोसँग मिलेको भन्दै विरोध गर्दै आएका थिए।

'रातो ब्याग्राउण्डमा सेतो रंगका पाँचवटा पाँचकुने तारा रहने झण्डा र चुनाव चिह्नको रुपमा आँखा फाइनल भएको छ,' पार्टीका केन्द्रीय कार्यसमिति सदस्य एवम् तीन नम्बर प्रदेश संयोजक गंगा श्रेष्ठले थाहा खबरसँग भने।

पाँचवटा तारा किन ? 

झण्डामा प्रयोग भएको पाँचवटा तारालाई नयाँ शक्तिले पाँच 'स' को प्रतिकको रुपमा व्याख्या गरेको छ। यसले समतामूलक समृद्धि, समुन्नत समाजवाद, समानुपातिक समावेशी र सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार तथा स्वाधिनता र सार्वभौमसत्ताको प्रतिनिधित्व गर्ने नेता श्रेष्ठ बताउँछन्।

बिजुलीका चिमसहितलाई पछि पार्दै चुनाव चिन्ह 'आँखा'

चुनव चिन्हका विषयमा पार्टीभित्र लामो बहस चलेको थियो। सुझावका रुपमा आएका आधा दर्जनभन्दा बढी चिन्हबाट आँखालाई छानिएको नेता श्रेष्ठले जानकारी दिए। 'बिजुलीको चिमसहित आधा दर्जनभन्दा बढी चिन्हहरु सुझावका रुपमा आएका थिए,' उनले भने, 'त्यसबाट आँखालाई छानेका हौँ।'

सुझावका रुपमा आएकामध्ये चिम र आँखाका विषयमा बढी नै छलफल भएको थियो। चिमले उज्यालोको संकेत गर्ने र उज्यालो समृद्धिको प्रतिक हुने तर्क आएको थियो। तर, भिजनसँग जोडेर आँखालाई चुनाव चिन्ह बनाउने तय भएको छ।

'आँखा भनेको भिजन हो। समृद्धिको भिजन, समाजवादको भिजन, सुशासनको भिजन .....,' नेता श्रेष्ठ भन्छन्- 'यसका सथै आँखालाई सबैले सहजै चिन्ने भएकाले पनि यसलाई चुनाव चिन्ह बनाउने निर्णय गरिएको हो।'

यस चिन्हमा अहिलेसम्म कसैबाट दाबी विरोध नआएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.